काठमाडौं । महिला विश्वकप फुटबलमा अस्ट्रेलिया र न्युजिल्यान्डले विजयी सुरुवात गरेका छन् । आज (बिहीबार) देखि सुरु भएको महिला विश्वकपको उद्घाटन खेलमा प्रतियोगिताका आयोजक र सहआयोजक दुवै टोलीले सुखद् सुरुवात गरेका हुन् ।
उद्घाटन खेलमा घरेलु टोली न्युजिल्यान्डले नर्वेलाई १-० गोलले पराजित गर्यो । अकल्यान्डस्थित इडेन पार्कमा बिहीबार बिहान भएको गोली प्रहारमा ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जली दिँदै खेल सुरु भएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकियो । सुरुवाती २० मिनेट नर्वे हाबी भयो । तर अग्रता लिन भने सकेन ।
दोस्रो हाफको सुरुवातमै न्यूजिल्यान्डले डेडलक तोड्यो । उसका लागि ४८ औं मिनेटमा हन्नाह विलकिन्सनले गोल गरेकी थिइन् । हन्नाहलाई ज्याकी ह्यान्ड्सले क्रस उपलब्ध गराएकी हुन् । पछिल्लो पटक विश्वकपमा न्युजिल्यान्डका लागि गोल गर्ने हन्नाहनै थिइन् । २०१५ मा चीनसँग २-२ को बराबरी खेल्दा उनैले गोल गर्दै न्युजिल्यान्डलाई हारबाट जोगाएकी थिइन् । ८९ औं मिनेटमा न्युजिल्यान्डले पेनाल्टीमार्फत दोस्रो गोल थप्ने सुनौलो अवसर पाएको थियो । तर रिया पर्सिभलको प्रहार बाहिरिन पुग्यो ।
४२ हजार १ सय ३७ घरेलु समर्थकअघि हन्नाहको निर्णायक गोलको मद्दतमा न्युजिल्यान्डले इतिहास रचेको हो । न्युजिल्यान्डको फुटबलमा यो कीर्तिमानी दर्शक संख्या हो । यसअघिका पाँच विश्वकपका १५ खेलमा न्युजिल्यान्ड जितविहीन थियो । न्युजिल्यान्डले तीन अङ्क जोडेको छ ।
यस्तै, स्टेफ काट्लेको पेनाल्टी गोलमा आयोजक अस्ट्रेलियाले फिफा महिला विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ को खेलमा अस्ट्रेलियाले रिपब्लिक अफ आयरल्याण्डलाई १-० ले पराजित गरेको हो ।
सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा भएको खेलमा अस्ट्रेलियाका लागि दोस्रो हाफमा काट्लेले पेनाल्टीमार्फत निर्णायक गोल गरेकी हुन् ।
खेलको ५२औं मिनेटमा काट्लेले पेनाल्टीमा गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाएकी थिइन् । त्यही अग्रता जोगाउँदै अस्ट्रेलियाले ३ अंक जोडेको हो । अब अस्ट्रेलियाले दोस्रो खेलमा नाइजेरिया तथा आयरल्यान्डले क्यानडासँग खेल्नेछ ।