काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा सोमबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए ।

उनले आम सर्वसाधरण, पार्टी कार्यकर्ता र देशबासीलाई समेत प्रत्यक्ष जानकारी दिने उद्देश्यले बैठकको सबै कारबाही प्रत्यक्ष प्रसारण गर्न लागिएको जानकारी दिए । यसअघि समूहगत रुपमा गरिँदै आएको छलफल नगरी सबै केन्द्रीय सदस्यलाई बोल्न दिइने गरी कार्यक्रम तय भएको उनको भनाइ छ ।

माओवादीको केन्द्रीय समिति बैठक यही साउन १७ देखि २१ गतेसम्म काठमाडौंको प्रज्ञा भवनमा हुने तय भएको छ ।

यसअघि नेपाली कांग्रेसले पनि केन्द्रीय समितिको बैठक सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरेको थियो । कांग्रेसले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गरेपछि राष्ट्रियसभा सदस्य बामदेव गौतमले कांग्रेसको उक्त निर्णयको प्रशंसा गर्दै कम्युनिष्ट पार्टीको बैठक पनि प्रत्यक्ष प्रसारण गर्न सुझाव दिएका थिए ।