काठमाडौं । नेपाल एक दशक पछि आईसीसी टी–ट्वान्टी विश्वकप २०२४ को लागि छनोट भएको छ ।

विश्वपक एसिया छनोटको फाइनलको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो ।

नेपाल एसिया छनोटको फाइनलमा पनि प्रवेश गरेको छ । काठमाडौंमा भएको छनोट खेलबाट ओमान पनि विश्वकपमा छनोट भएको छ । यस छनोट प्रतियोगिताको उपाधिका लागि नेपाल र ओमान खेल्ने छन् ।

मुलपानी क्रिकेट मैदानमा यूएईले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभर १ बलमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । नेपालका लागि आसिफ शेखले ६३ रनको अर्धशतकीय पारी खेले । त्यस्तै गुलशन झाले २२ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरको यूएईले निर्धारित २० ओभर सम्पूर्ण विकेट गुमाउँदै १३४ रन बनाएको थियो । यूएईका लागि भित्रिया अरविन्दले ६४ रनको अर्धशतकीय पारी खेले । ५१ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै मोहमद वसिमले २६ रन बनाउँदा अलिसान सफुरले १६ रनको योगदान गरे । बलिङतर्फ नेपालका लागि कुशल मल्लले तीन तथा सन्दीप लामिछाने दुई विकेट लिए । त्यस्तै सोमपाल कामी र रोहित कुमार पौड्यलले एक-एक विकेट लिए ।

नेपाल र ओमान छनोट भएपछि सन् २०२४ मा हुने टी-२० विश्वकप खेल्ने १८ टोली छनोट भइसकेका छन् । आईसीसी मेन्स टी-२० विश्वकप २०२४ मा कुल २० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

जसमा वेष्ट इन्डिज र अमेरिका आयोजकको रुपमा छन् र सीधै छनोट भइसकेका छन् । २०२२ को टी-२० विश्वकपमा शीर्ष आठमा रहेका अष्ट्रेलिया, इंग्ल्याण्ड, भारत, नेदरल्याण्ड्स, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका सीधै छनोट भइसकेका छन् ।

टी-२० विश्वकपपछि वरियतामा माथि रहेका आधारमा बंगलादेश र अफगानिस्तानले पनि स्थान सुरक्षित गरेका छन् ।

आयरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्युगिनी र क्यानडाले टी-२० विश्वकप रिजनल क्वालिफायर्सबाट टी-२० विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।

आगामी २० नोभेम्बर देखि १ डिसेम्बरमा नामिबियामा हुने अफ्रिका क्वालिफायर फाइनलबाट दुई टिमले विश्वकपमा स्थान बनाउनेछन् ।

Globalhuff Media
Join the everyday newsletter

Subscribe to get the latest news content by email.