काठमाडौं । मंगलबार बिहान निधन भएका संविधानसभाका अध्यक्ष एवं एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पर्सि बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

श्रद्धाञ्जली अर्पणका लागि नेम्वाङको पार्थिव शरीर बुधबार दिउँसो १ बजेसम्म च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिने नेकपा एमालेले जनाएको छ । मंगलबार दिनभर पार्टी कार्यालयमा उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न शीर्ष नेताहरूसहित ठूलो संख्यामा राजनीतिज्ञ तथा शुभचिन्तकहरूको भीड लागेको छ ।

नेम्वाङले पार्टी, कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाउँदै पुष्पगुच्छा अर्पण गरेका थिए ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र नेपाल सरकारका मन्त्रीहरू, सांसदहरू, विभिन्न राजनीतिक दलका नेताहरू, नेपाली सेनाका प्रधान सेनापतिलगायत विभिन्न सुरक्षा निकायका प्रमुख र पदाधिकारीहरू, विभिन्न कुटनीतिक नियोगका प्रमुखहरू तथा उच्चपदस्थ अधिकारीहरूसहित ठूलो संख्यामा पार्टीका नेता, कार्यकर्ता र सर्वसाधारणले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

श्रद्धाञ्जली अर्पणपछि पारिवारिक तथा धार्मिक संस्कारका लागि उनको पार्थिव शरीर बालुवाटारस्थित निवासमा राखिने भएको छ । त्यहाँ नेम्वाङको शरीरप्रति उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यहरूबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।