काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा भएको स्वास्थ्य उपचारबापतको ५५ लाख रुपैयाँ सरकारले ब्यहोर्ने भएको छ ।

उक्त रकम भुक्तानी गरिदिने परराष्ट्र मन्त्रालयले सोमबार अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । परराष्ट्र सचिवस्तरीय निर्णयअनुसार सोमबार परराष्ट्रले अर्थलाई पत्र पठाएको हो ।

राष्ट्रपति पौडेलले स्वास्थ्योपचार खर्च आफैंले बेहोर्न चाहेको भन्दै उनको स्वकीय सचिवालयले जनाएको थियो । तर‚ राष्ट्रपतिको तर्फबाट उपचार खर्च तिर्ने पहल भने भएको थिएन ।

राष्ट्रपति पौडेल गत वैशाख ६ गते स्वास्थ्य परीक्षणका लागि श्री एयरलाइन्सको चार्टर एयर एम्बुलेन्समार्फत भारत गएका थिए । उनी त्यहाँ १० दिन उपचार गराई वैशाख १७ गते नेपाल एयरलाइन्सको नियमित उडानबाट नेपाल फर्केका थिए । उक्त अवधिमा लागेको खर्चको बिल भर्पाइ भुक्तानीका लागि पेस भएको भएको भन्दै परराष्ट्रले खर्चका लागि यसअघि अर्थको सहमति मागेको थियो । उक्त खर्च रकम स्वास्थ्य उपचारलगायतको खर्चका लागि प्रचलित कानुन तथा स्वीकृत मापदण्डबमोजिम खर्च गर्न भन्दै अर्थमन्त्रालयले परराष्ट्रलाई गत ११ गते सहमति दिएको थियो ।

उक्त सहमति अनुसार खर्च रकम सम्बन्धितलाई भुक्तानी दिने प्रयोजनका लागि ५५, ०२,२७९ रुपैयाँ निकासा गरिदिन परराष्ट्रले पत्राचार गरेको हो । ‘राष्ट्रपतिको उपचार खर्चमा लागेको रकमबारे पत्राचार भएको छ‚’ अर्थका अधिकारीले भने,’परराष्ट्रले भुक्तानी मागेको छ ।’

पेट तथा छातीमा समस्या देखिएपछि राष्ट्रपतिले पौडेलले नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गराएर फर्किएका थिए । उनी फर्केपछि पौडेलले खर्चको विषयमा प्रश्न उठेपछि आफ्नो उपचारमा भएको खर्च आफैंले ब्यहोर्ने चाहना राखेको भन्दै वैशाख १९ गते राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले विज्ञप्ति जारी गरेका थिए ।