पोखरा । नेपालको चारदिने भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज बिहान अन्नपूर्ण आधार शिविर पुगेका छन् ।

जलवायु परिवर्तनको असरबारे बुझ्न महासचिव गुटेरेस कास्कीको अन्नपूर्ण आधार शिविर पुगेका हुन् ।

अन्नपूर्ण आधार शिविर जानका लागि उनी नेपाली सेनाको विशेष विमानमार्फत हिजै पोखराको पुरानो विमानस्थलमा अवतरण गरेका थिए । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरका प्रमुख धनराज आचार्यलगायत सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, पर्यटन व्यवसायी र स्थानीयले सांस्कृतिक झाँकीसहित स्वागत गरेका थिए ।

आधार शिविरमा गुटेरेसले जलवायु परिवर्तनको असरबारे स्थानीय बासिन्दासँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ । उनले त्यहाँबाट फर्किएर पोखरा विमानस्थलमा पत्रकार सम्मेलन गर्नेछन् ।

पत्रकार सम्मेलनपछि महासचिव गुटेरेस आजै लुम्बिनी प्रस्थान गर्नेछन् । उनले लुम्बिनीमा मायादेवी मन्दिरलगायत त्यहाँको अवलोकन गर्ने कार्यक्रम छ ।