काठमाडौं । रुसको मानवरहित अन्तरिक्षयान ‘लुना-२५’ चन्द्रमामा दुर्घटना भएको छ । अन्तरिक्षयान घुम्ने क्रममा नियन्त्रणबाहिर गई दुर्घटना भएको हो ।

अन्तरिक्षयान ‘लुना-२५’ भोलि (सोमबार) चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने योजना थियो । तर प्रि-ल्याडिङ कक्षमा पुगेपछि यसमा समस्या देखिएको र अनियन्त्रित भएर चन्द्रमाको सतहमा ठोक्किन पुगेको जनाइएको छ ।

करिब ५० वर्षको अन्तरालपछि रुसले पठाएको यो पहिलो चन्द्रमा मिसन थियो । नौ दिनअघि रुसले यो अन्तरिक्षयान प्रक्षेपण गरेको थियो । रुसको अन्तरिक्ष संस्था ‘रोस्मो कस्मस’ ले लुना-२५ सँग स्थानीय समयअनुसार शनिबार दिउँसो २ बजेर ५७ मिनेट जाँदा सम्बन्धविच्छेद भएको जानकारी गराएको थियो ।

रुस, चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरणका लागि भारतसँग प्रतिस्पर्धामा थियो । भारतले पठाएको ‘चन्द्रयान-थ्री’ यसै साता अगस्ट २३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने अपेक्षा गरिएको छ । अहिलेसम्म कुनै पनि देशले चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो यान अवतरण गराउन सकेका छैनन् ।

चन्द्रमाको भू-मध्यीय क्षेत्रमा भने अमेरिका, चीन र रुसले अन्तरिक्षयान अवतरण गराउनमा सफलता हात पारिसकेका छन् । अमेरिकी अन्तरिक्ष यात्री निल आर्मस्ट्रङले सन् १९६९ मा चन्द्रमामा पहिलो पाइला टेक्ने व्यक्तिका रुपमा ख्याति कमाए पनि सन् १९५९ मा तत्कालीन सोभियत संघले प्रक्षेपण गरेको लुना टु मिसन, चन्द्रमाको सतहमा पुग्ने पहिलो अन्तरिक्ष यान बनेको थियो । चन्द्रमाको दक्षिणी ध्रुवमा ठूलो मात्रामा पानी रहेको विश्वास गरिएको छ ।