दाङ । रोल्पाको त्रिवेणी-७, टिला बजारनजिक यात्रुवाहक बस दुर्घटना हुदाँ ४ जनाको मृत्यु भएको छ ।
रोल्पाको बाघमाराबाट दाङको घोराहीका लागि छुटेको ना.५ख २६१२ नम्बरको बस दिउँसो १ बजे सडकबाट एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार तीन पुरुष र एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् पाँचजनाको अवस्था चिन्ताजनक छ ।
मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका-२ बस्ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका-४ का ५० वर्षीय गोर्खे डाँगी, उनकी ५० वर्षीया श्रीमती हस्त डाँगी र परिवर्तन गाउँपालिका-३ का ४६ वर्षीय भक्तबहादुर विक रहेका छन् ।
घाइतेहरुलाई दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । स्थानीय बासिन्दाका अनुसार तीव्र गतिमा गुडिरहेको बस चालकको नियन्त्रणबाहिर जाँदा दुर्घटनामा भएको हो । प्रहरीले सामान्य घाइते भएका गाडी चालकलाई नियन्त्रणमा लिएको छ ।