काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा काठमाडौं महानगरपालिकामा कार्यरत अधिकृतसहित थप तीन जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौं महानगरपालिकाका अधिकृत शिवजी भट्टराईसहित घमनकुमार कार्की र बाबुराजा महर्जनलाई नियन्त्रणमा लिएको हो ।
भट्टराई २०६० सालमा काठमाडौं महानगरपालिका-४ का वडासचिव थिए । त्यस्तै कार्की २०६७ सालमा नापी कार्यालयमा थिए । महर्जन नक्कली मोही भएको बुझिएको छ ।
कार्कीले माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा बालुवाटारको विशिष्ट व्यक्तिको निवास विस्तारका क्रममा सरकारी जग्गा नरहेको भनेर सिफारिस गरेका थिए । त्यसकै आधारमा १४ रोपनी भन्दा बढी जग्गा नक्कली मोही र अरु व्यक्तिका नाममा गएको थियो ।
प्रहरीले गत मंगलबार पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, मालपोतका तत्कालिन कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्की पक्राउ गरेको थियो । उनीहरु अहिले अनुसन्धानका लागि हिरासतमा छन् ।
डिल्लीबजारका मालपोत प्रमुख कलाधर देउजा र दुई अधिकृतहरू हुपेन्द्रमणि केसी र सुरेन्द्रमान कपाली अदालतको आदेशले पक्राउ लगत्तै छुटेका थिए ।
ललिता निवास प्रकरणमा ब्युरोले नियन्त्रणमा लिएकाको सङ्ख्या सातजना पुगेको छ ।