काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । यस प्रकरणमा जोडिएका समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुवप्रसाद अर्याल पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरुलाई आइतबार पक्राउ गरेको हो ।

घिमिरेले समरजंग कम्पनीका प्रमुखको रुपमा रहेको बेलामा सरकारी जग्गा दाबी गर्नुपर्ने समयमा दाबी नगरेका कारण हिनामिनामा उनको पनि संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा देखिएपछि प्रहरीले पक्राउ गरेको हो ।

अर्यालचाहिँ नापी अधिकृतको रुपमा जग्गा नापजाँचमा संलग्न रहेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

यो प्रकरणमा जोडिएका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यापारी मिनबहादुर गुरुङलगायत ९ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरी अनुसन्धान गरिररहेको छ । यो प्रकरणमा सार्वजनिक पदधारण गरेका झण्डै डेढ सयभन्दा बढी पदाधिकारी र कर्मचारीहरु जोडिएका छन् ।

ललिता निवासको १४२ रोपनी जग्गा हडप्ने कार्यमा संलग्न रहेको भन्दै यसअघि नै प्रहरीले कम्पनीका पूर्वप्रमुख रमेशकुमार पोखरेललाई पक्राउ गरिसकेको छ ।