काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा भूमिसुधार तथा व्यवस्था विभागका पूर्वमहानिर्देशक रुद्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार साँझ काठमाडौंबाट श्रेष्ठलाई पक्राउ गरेको हो ।
भूमि विभागमा शाखा अधिकृत छँदा श्रेष्ठले २०४९ सालमा सरकारी जग्गा व्यक्तिका नाममा हुने गरी हालसाविक गर्न टिप्पणी उठाएको प्रहरीको अनुसन्धानमा खुलेको छ । पछि उनले महानिर्देशकबाट अवकाश पाएका थिए । श्रेष्ठले उठाएको टिप्पणीकै आधारमा तत्कालीन भोगाधिकारी सुवर्ण शमशेर राणाका परिवारले २०४९ सालमा ११२ रोपनी ४ आना जग्गा हडपेका थिए ।
यसमा कर्मचारी, भूमाफिया र ब्यापारीको संलग्नता खुलेको थियो । मन्त्रिपरिषद्बाट भएका निर्णयको अपव्याख्या गरी मालपोत र भूमि विभागका कर्मचारीले सरकारी कागजात किर्ते गरेर नक्कली फाइल तयार पारेको पनि खुलेको छ ।
ललिता निवास जग्गा प्रकरणमा मंगलबार नै तत्कालीन उपसचिव बालकृष्ण श्रेष्ठ पनि पक्राउ परिसकेका छन् ।