विराटनगर । इजाजत नदिई वित्तीय कारोवार गरेको र ठगी मुद्दामा जिल्ला अदालत सुनसरीको आदेशले ९ महिनादेखि थुनामा रहेका सुनसरी इटहरी १९ वरमपुर फूलबारी टोलका गोपाल भनिने लालबहादुर विश्वकर्मालाई उच्च अदालत विराटनगरले मंगलबार जिल्ला अदालतको आदेशलाई उल्टाउँदै थुनामुक्त गर्ने आदेश दिएको छ ।
उक्त मुद्दाका थप दुई जनाले बिनाइजाजत वित्तीय कारोवार गरेको कसुरमा सफाइ पाएका छन् भने ठगी मुद्दामा उनीहरुको हकमा जिल्ला अदालतले तोकेको सजायलाई उच्च अदालतले सदर गरेको छ ।
न्यायाधीश विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलसले सुनसरी जिल्ला अदालतकी तत्कालीन न्यायाधीश निर्मला योङयाको २०७८ पुस १९ को आदेशलाई उल्टाउँदै लालबहादुरलाई थुनामुक्त गर्ने आदेश दिएको हो ।
सुनसरी जिल्ला अदालतकी तत्कालीन न्यायाधीश योङ्याले लालबहादुरलाई इजाजत नलिइ बैंकिङ तथा वित्तीय कारोवार गरेर सर्वसाधारणको रकम उठाएर ठगी गरेकोमा दोषी ठहर गर्दै लालबहादुरदलाई ३ करोड १४ लाख ११ हजार १ सय ४८ रुपैयाँ बिगोसहित ठगी मुद्दामा ७० हजार जरिवाना र एक वर्ष ६ महिना कैद तोकेकी थिइन् ।
लालबहादुरले बिनाइजाजत वित्तीय कारोवार गरेको र ठगी मुद्दा दुवैमा सफाइ पाएको उच्च अदालतका रजिष्टार जितेन्द्रवावु थपलीयाले जानकारी दिए । बिनाइजाजत वित्तीय कारोवार गरेको मुद्दामा सञ्चालक कृष्ण विश्वकर्मा र सीता विश्वकर्माले पनि सफाइ पाएको थपलीयाले बताए । तर उनीहरुको हकमा ठगी मुद्दामा जिल्ला अदालतकै आदेशलाई उच्चले सदर गरेको थपलीयाले जानकारी दिए । उनीहरुलाई ठगी मुद्दामा जनही ७० हजार जरिवाना र एक वर्ष ६ महिना थुनामा राख्ने सुनसरी जिल्ला अदालतको आदेश छ ।
त्यसैगरी ज्वेलर्स सञ्चालक मध्येका दिपक गजमेरको हकमा उच्च अदालतले सुनसरी जिल्ला अदालतको आदेशलाई सदर गरेको थपलीयाले जानकारी दिए । उनको हकमा बिनाइजाजत वित्तीय कारोवार गरेर १८ कराड ८४ लाख ६६ हजार ८८९ रुपैयाँ ठगी गरेको बिगो र ठगी मुद्दामा ७० हजार जरिवानासहित एक वर्ष ६ महिना थुनामा राख्ने जिल्ला अदालत सुनसरीको आदेश छ ।
इटहरी उपमहानगर २० तरहरा बजारका कृष्ण विश्वकर्मा, दिपक गजमेर, कमल गजमेर र सीता विकले सञ्चालन गर्दै आएको सिंहदेवी ज्वेलर्समा ज्यालादारी काम गर्दै आएका २९ वर्षीय लालबहादुरलाई ज्वेलर्सका सञ्चालक चार जनासँगै अदालतले दोषी ठहर गरेको थियो । उनीहरुलाई अदालतले अवैध रुपमा बैंक तथा वित्तीय सस्था सञ्चालन गरी ठगी गरेको भन्दै १८ करोड ८४ लाख ६६ हजार ८८९ रुपैयाँ बिगो कायम गर्दै पाँचै जनालाई थुनामा राख्ने आदेश दिएको थियो । उनीहरु सबैलाई ठगीतर्फ जनही ७० हजार जरिवाना र डेढ वर्ष थुनामा राख्ने जिल्ला अदालतले आदेश दिएको थियो ।