काठमाडौं । बेलायत निवासी विनय अधिकारीले गैरआवासीय नेपाल संघ (एनआरएनए)को अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
नेपालमा थुप्रै व्यवसाय सञ्चालन गरिरहेका उनी गोरखाको फुजेलमा जन्मिएका हुन् । अहिले उनी बेलायतको क्याम्रिज विश्वविद्यालयबाट राजनीतिक तथा सामाजिक शास्त्रमा पीएचडी गर्दैछन् । संघको ११औं महाधिवेशन १७ अक्टोबरदेखि सुरु हुँदैछ ।
उनले नेपाललाई समृद्ध बनाउन गैरआवासीय नेपालीको समेत भूमिका रहने भन्दै त्यसमा आफूले पहल गर्ने बताएका छन् । विकासको मूल प्रवाहमा गैरआवासीय नेपालीलाई आवद्ध गर्न राष्ट्रिय योजना आयोगसँग सहकार्य गर्ने उनको भनाइ छ ।
विदेशमा पढिरहेका विद्यार्थीलाई इन्टरसिपमा नेपाल पठाएर ज्ञान र सीपको उपयोग गर्ने वातावरण बनाउने समेत उनले बताए । आफ्नो उम्मेदवारी निर्वाचनसम्म कायम रहने भन्दै उनले सोही अनुसार निर्वाचनमा होमिएको बताए ।