काठमाडौं । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार साँझ श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।
उनलाई नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।
श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले सोमबार नै अनुमोदन गरेको थियो । उनीविरुद्ध संसदीय समितिमा परेको उजुरीका विषयमा छलफल भएपछि राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन् । उनी ३० औं प्रधानन्यायाधीश हुन् ।
१८ साउनमा बसेको संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।
सन् १९५९ अक्टोबर १६ मा सिलगढी डोटीमा जन्मिएका श्रेष्ठले सन् १९८४ देखि सुदूरपश्चिम क्षेत्रीय अदालतमा शाखा अधिकृतका रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए ।
श्रेष्ठले सन् २००४ मा गोरखा दक्षिणबाहु तेस्रो र सन् १९९१ मा गोरखा दक्षिणबाहु चौथो प्राप्त गरेका थिए ।