काठमाडौं, ७ असार । आईसीसी विश्वकप ग्लोबल छनोटअन्तर्गतको खेलमा नेपालले वेस्ट इन्डिजसँग फराकिलो हार व्यहोरेको छ ।

कप्तान शाई होप र निकोलस पुरनको उत्कृष्ट शतकको सहयोगमा वेस्ट इन्डिजले नेपालमाथि फराकिलो जित हात पारेको हो । जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबमा भएको प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपाल १ सय १ रनको फराकिलो अन्तरले पराजित भएको भयो ।

वेस्ट इन्डिजले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले ४९ दशमलब ४ ओभरमा अलआउट हुँदै २ सय ३८ रन मात्र बनायो । नेपालका लागि आरिफ शेखले ९३ बलमा ४ चौका र १ छक्काको सहयोगमा ६३ रनको अर्धशतकीय ईनिङ खेलेर आउट भए । नेपालका ओपनर आसिफ शेख र भीम सार्कीले दोस्रो विकेटका लागि १६ बलमा १८ रनको साझदारी गरेका थिए ।

भीम सार्कीले ७ बलमा २ रन बनाएका थिए । सातौं विकेटका लागि आरिफ शेख र गुलसन झाले ९४ बलमा ६८ रनको महत्वपुर्ण साझेदारी गरे । गुलसन ५८ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४२ रन बनाउँदै आउट भए । कप्तान रोहित पौडेलले ४३ बलमा ३ चौकाको सहयोगमा ३० रन बनाए । ओपनर आसिफ शेखले ३६ बलमा २८ रन बनाए । करण केसीले २७ बलमा ४ चौका र १ छक्काको सहयोगमा २८ रन बनाए । वेस्ट इन्डिजका लागि जेसन होल्डरले ३ तथा अल्जारी जोसेफ, किमो पल र अकिल होसेनले समान २२ विकेट लिए । कायल मेयर्सको नाममा १ विकेट रह्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३९ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि शाई होप र निकोलस पुरनले शतकीय ईनिङ खेले । कप्तान शाई होपले १ सय २९ बलमा १० चौका र ३ छक्काको सहयोगमा १ सय ३२ रन बनाए । उनी ललित नारायण राजवंशीको बलमा आउट भए ।

नेपालले सुरुआत राम्रो गरेको थियो । नेपालले पहिलो पावर प्लेमा वेस्ट इन्डिजको दुई विकेट लिँदै ३० रन मात्र दिएको थियो । नेपालले दोस्रो ओभरको तेस्रो बलमा नै पहिलो विकेट लिएको थियो । नेपालका लागि करण केसीले ओपनर कायल मेयर्सलाई १ रनमा आउट गराएका थिए ।

पाँचौं ओभरको पहिलो बलमा गुलसन झाले जोनसन चाल्र्सलाई दोस्रो विकेटका रुपमा आउट गराएका थिए । तेस्रो विकेटका लागि ब्रेन्डन किंग र कप्तान शाई होपले ६८ बलमा ४६ रनको साझेदारी गरेका थिए । यस साझेदारीको सहयोगमा वेस्ट इन्डिज खेलमा फर्कने कोसिस गरेको थियो ।

तर, ब्रान्डन किंग सन्दीप लामिछानेको बलमा आउट भएसँगै साझेदारी तोडिएको थियो । किंगले ४२ बलमा २ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाए । चौथो विकेटका लागि कप्तान शाई होप र निकोलस पुरनले १ सय ७२ बलमा २ सय १६ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए । यो साझेदारीले वेस्ट इन्डिजलाई खेलमा पुर्ण रुपमा हाबी गराएको थियो । पुरन ९४ बलमा १० चौका र ४ छक्काको सहयोगमा १ सय १५ रन बनाउँदै दीपेन्द्रसिंह ऐरीको बलमा आउट भए ।

पुरनले दुई पटक जीवनदान पाएका थिए । पहिलो पटक ललितको बलमा विकेटकिपर आसिफ शेखले एज लागेको बल क्याच मिस गरेका थिए । दोस्रो पटक पनि आसिफले नै करण केसीको बलमा क्याच मिस गरेका थिए । पहिलो पटक जीवनदान पाउँदा पुरन ३ रनमा खेलिरहेका थिए । दोस्रो जीवनदानमा भने पुरन ५४ रनमा खेलिरहेका थिए ।

पुरन आउट भए लगत्तै क्रिजमा आएका रोभमन पावलले कप्तान होपसँग मिलेर १९ बलमा ३९ रनको साझदारी गरे । १४ बलमा २९ रन बनाउँदै पावेल ललितनारायण राजवंशीको बलमा आउट भएका थिए । नेपालका लागि ललितनारायण राजवंशीले ३ तथा करण केसी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र गुलसन झाले समान १/१ विकेट लिए ।

दुई खेलमा अपराजित वेस्ट इन्डिज ४ अंकका साथ समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै २ अंक रहेको नेपाल चौथो स्थानमा झरेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । सुपर सिक्समा स्थान बनाउन नेदरल्यान्ड्सविरुद्धको खेल जित्नै पर्ने हुन्छ ।