5काठमाडौं । नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष टुंगिएको छ ।

प्रधानन्यायाधीशको नाममात्रै सिफारिस गर्ने एजेन्डासहित बसेको बैठकमा संवैधानिक आयोगका अन्य पदमा पनि नियुक्ति गर्नुपर्ने माग उठेपछि निर्णय हुन नसकेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले कुनै निर्णय गर्न नसकेको परिषद्का सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । उनले भने, ‘आज कुनै निर्णय भएन । अर्को बैठक साउन १८ गते ५ बजे बस्नेगरी बैठक अन्त्य भयो ।’

प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने एजेन्डामा छलफल भए पनि अन्य रिक्त रहेका संवैधानिक पदमा नियुक्ति सिफारिसको विषय प्रवेश गरेको तिमिल्सिनाले बताए ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गतेदेखि अनिवार्य अवकाशमा जाने भएका कारण नयाँ प्रधानन्यायाधीशको सिफारिसका लागि संवैधानिक परिषद्‌को बैठक असार २० अघि नै बस्नुपर्ने संविधानको धारा २८४ को उपधारा ३ मा व्यवस्था छ । तर, प्रधानमनमन्त्री अध्यक्ष रहेको परिषदले अवकाशको तीनदिन अघिसम्म प्रधानन्यायाधीश सिफारिस गर्न नसकेको हो ।

वरीयताक्रम अनुसार विश्वम्भरप्रसाद श्रेष्ठको नाम अगाडि छ । बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने लगभग निश्चित छ ।

प्रधानन्यायाधीश बन्न लागेका सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ कानुन व्यवसायीको पृष्ठभूमिबाट नभएर न्याय सेवाको कर्मचारीका रुपमा अदालत प्रवेश गरेका हुन् । २०१६ साल असोज २० गते सुदुरपश्चिमको डोटीमा जन्मेका श्रेष्ठले कानुनमा स्नातक र मानविकी संकायमा स्नातकोत्तर गरेका छन् । उनले अदालतको शाखा अधिकृतबाट न्याय सेवामा प्रवेश गरेका थिए ।