काठमाडौं । सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनु नपर्ने ठहर गरेको छ ।

प्रधानमन्त्री दाहालको विवादास्पत अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी एमालेले संसद अवरुद्ध पार्दै प्रधानमन्त्रीको राजीनामा माग गरेपछि सत्ता गठबन्धनको आज बिहान बैठक बसेको हो ।

बालुवाटारमा बसेको बैठकले एमालेको कदम असंसदीय रहेको ठहर गर्दै प्रधानमन्त्रीले राजीनामा दिन नपर्ने र संसदको फेस गर्ने निष्कर्ष निकालेको हो ।

बैठकमा नेकपा सहभागी एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको जानकारी दिए । उनले एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु संसदीय मान्यता विपरीत रहेको जनाए ।

‘उहाँहरुले हतारमा प्रधानमन्त्रीको पनि कुरै नसुनिकन कुन सन्दर्भमा के कुरा गर्नुभएको थियो भन्नेकुरा नसुनी राजीनामा माग गर्ने निर्णय भएको छ, हामी गठबन्धन दलका सबै बसेर छलफल गरेर राजीनामा दिनु नपर्ने निर्णय गरेका छौँ । र संसद फेस गर्ने निर्णय गरेका छौँ ।’

उपाध्यक्ष पाण्डेले बैठकले मिटरब्याजविरुद्ध सम्बन्धीको अध्यादेशमा रहेको समस्याबारेमा गठबन्धन दलबीच छलफल गरी चाँडै नै संसदबाट पास गर्ने निर्णय भएकोसमेत जनाए ।

गत सोमबार ‘रोड्स टु द भ्याली–द लिगेसी अफ सरदार प्रिमत सिंह इन नेपाल’ नामक पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री दाहालले सरकार प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन धेरैपटक दिल्ली धाएको विवादास्पद अभिव्यक्ति दिएका थिए ।

उक्त भनाइप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा एमालेले बुधबार दुवै सदनको बैठकमा अवरोध गरेको थियो