सुनसरी । सुनसरीको बराहक्षेत्रस्थित सप्तकोसी नदी किनारमा तीन जना युवतीमाथि भएको निर्घात कुटपिटमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तकोसी किनारमा युवतीहरुको एक समूहले अर्को समूहमाथि निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमार्फत बाहिरिएपछि घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले बराह क्षेत्र नगरपालिका-९ की १९ वर्षकी कृति लिम्बुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवत्ता प्रहरी नायब उपरीक्षक राजकुमार राईकाअनुसार उक्त घटनामा संलग्न अरु चार जनाको खोजी भइरहेको छ । उनीहरु फरार छन् । फरार हुनेहरुमा बिनिता उराउ, सञ्जिता राई, दुर्गा सुनुवार राई, निहाङमा राई हुन् ।
गत शुक्रबार सप्तकोसी नदीस्थित बराहक्षेत्रको राजाबासमा पाँच युवतीको समूहले तीन युवतीमाथि निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । प्रेमीको कुरा काटेको निहुँमा उनीहरुमाथि कुटपिट भएको खुल्न आएको प्रहरीले जनाएको छ । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार राईले कुटाई खाने र कुट्नेहरु चिनजानको साथी भएको जानकारी दिए ।
कुटपिटमा संलग्नहरुले आफ्नो पोल अरु कसैलाई खोलिदिएको भन्दै मुक्का र लात्ती वर्षाएको देखिन्छ ।
पीडित युवतीमध्येकी एक सन्ध्या परियारले आफूहरुलाई काम छ भन्दै कोसी किनारमा बोलाएर कुटपिट गरेको बताएकी छन् । उक्त घटनापछि कुटाइ खाने तीनै जना पीडित युवतीहरु मिडियामा समेत आएका छन् । कुटपिटको घटना हुनुभन्दा केही समय अगाडि सामान्य मुखामुख भएको र त्यही निहुँमा आफूहरुमाथि योजनाबद्ध रुपमा कुटपिट भएको उनीहरुले बताएका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् (भिडियो)