काठमाडौं, ४ असार । सत्तारुढ तीन र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गरिएको छ ।
राष्ट्रियसभा गृहमा एक कार्यक्रमका बीच सोमबार नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टीले समाजवादी मोर्चा घोषणा गरेका हुन् । चार दलका प्रमुखहरुले सात बुँदे घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।
चार कम्युनिस्ट घटकहरूले राजनीतिक स्थिरताका लागि भन्दै पार्टी एकतासम्मको उद्देश्य राखेर साझा प्रतिबद्धतामा रहेर समाजवादी मोर्चा घोषणा गरिएको हो ।
मोर्चा सञ्चालन गर्न तत्कालका लागि दुई तहको संरचना बनाउने तयारी छ । शीर्ष नेताहरू रहने संयोजन समिति र प्रत्येक राजनीतिक दलबाट प्रतिनिधित्व हुने गरी सचिवालय गठनको तयारी छ ।
प्रतिनिधिसभामा समाजवादी मोर्चाका ५४ सांसद हुनेछन्, जसमा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० जना छन् । मोर्चामा समान विचार भएका अन्य दल थपिने बाटो खुला राखिएकाले संख्या बढ्न सक्ने नेताहरूले बताएका छन्।
सहमतिपत्र अनुसार मोर्चाको नेतृत्व आलोपालो हुनेछ ।