काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। उनको स्थानमा सीके राउत नेतृत्वको जनमत पार्टीकी अनितादेवी साह सामान्य प्रशासनमन्त्री बन्ने भएकी छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको माओवादी पदाधिकारी बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको माओवादीका उपमहासचिव वर्षमान पुनले जानकारी दिए । अनिताको शपथ भोलि बिहान हुने भएको छ ।

जनमत पार्टीले असार २६ गते नै अनितादेवीको नाम सिफारिस गरेको थियो । त्यसको भोलिपल्टै प्रधानमन्त्रीपत्नी सीता दाहालको निधन भएपछि उनको नियुक्ति रोकिएको थियो ।

गत असारमा सत्तारुढ गठबन्धन दलबीच प्रधानमन्त्रीकै दलको कोटामा जनमत पार्टीलाई सरकारमा सहभागी गराउने सहमति भएको थियो । जनमत पार्टी यसअघि पनि दाहाल नेतृत्वको संघीय सरकारमा सहभागी भएको थियो ।

जनमत पार्टीबाट खानेपानीमन्त्री भएका अब्दुल खानले आफूहरुले दाबी गरेको मन्त्रालय नपाएको भन्दै गत चैत १७ गते राजीनामा दिएका थिए । त्यसबेला जनमत पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दाबी गरेको थियो ।