काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा अध्ययनरत चिकित्सकलाई बिरामीका आफन्तले कुटपिट गरेका छन् । पोखरास्थित मणिपाल अस्पताललगायतमा भएको घटनापछि आन्दोलनरत चिकित्सकहरूसँग सरकारले सहमति गरेको भोलीपल्ट नै राजधानीमा पुन: डाक्टर कुटिएका छन् ।
केएमसीका अध्ययनरत एक चिकित्सकका अनुसार ओपीडीमा कार्यरत इन्टर्न डा. मनिष खड्कामाथि बिरामीका आफन्तहरूले हातपात गरेसँग त्यहाँ कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन सुरु गरेका हुन् । उनकाअनुसार इन्टर्न चिकित्सकले ओपीडीमा जम्मा भएर हल्लाखल्ला नगर्न र बाहिर गएर पर्खन भनेपछि एक बिरामीका आफन्तले ती चिकित्सकलाई गाली गर्दै कुटपिट गर्न सुरु गरेका थिए । उनीहरूले ती चिकित्सकलाई उचालेर भूइँमा पछार्नुका साथै चिकित्सकलाई जोगाउन गएकी एक महिला एटेन्डेन्टलाई पनि हातपात गरेका छन् ।
घटनापछि अस्पतालतमा कार्यरत चिकित्सक तथा इन्टर्नहरूका साथै स्वास्थ्यकर्मीले अस्पताल अगाडीको बाटोमा जम्मा भएर नाराबाजी गरिरहेका छन् । उनीहरूले डाक्टर कुट्नेलाई तुरुन्तै पक्राउ गरी गृहमन्त्रीको रोहवरमा भएको सहमतिको पूर्ण पालना गर्न आग्रह गरेका छन् ।
त्यहाँ कार्यरत चिकित्सकका अनुसार चिकित्सक कुट्नेमध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने २ जना फरार भएका छन् ।
केएमसीका चिकित्सक तथा इन्टर्नहरूको विरोध प्रदर्शन चक्रपथतर्फ अगाडि बढ्ने भएपछि त्यहाँ ठूलो मात्रामा प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरेर उनीहरूलाई रोक्ने प्रयास भइरहेको छ ।