काठमाडौं, ६ असार । साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल पराजित भएको छ । बेंग्लोरस्थित कान्तिरभा फुटबल मैदानमा बुधबार भएको खेलमा कुवेतसँग ३ – १ ले पराजित भएको हो । खेलको दोस्रो हाफमा अञ्जन विष्टको एक गोलमा नेपालले बलियो पुनरागमन गरे पनि खेल जित्न भने सकेन ।
यससँगै विष्ट नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान नजिक पुगेका छन् । उनको यो १२ औं गोल हो । अब उनी कीर्तिमानबाट एक गोलले मात्रै टाढा छन् । नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान हरि खड्का र निराजन रायमाझीको नाममा छ । उनीहरू दुवैले समान १३ गोल गरेका छन् ।
अञ्जनले ६७ औं मिनेटमा कुवेती रक्षापंक्तिको भुलको फाइदा उठाउँदै गोल गरेसँगै उनी सर्वाधिक गोलको लक्ष्यको नजिक पुगेका हुन् । नेपालका लागि ५४ औं खेल खेल्दै अञ्जनले आफ्नो एक दर्जन गोलको संख्या छोएका छन् ।
दोस्रो हाफको सुरुमै अञ्जनको क्रसमा सनिश श्रेष्ठको हेड पोस्टको केही दूरीबाट बाहिरिएको थियो । यसअघि कुवेतका लागि खलिद हाजियाले २३ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ४१ औं मिनेटमा सबायब अलखल्दीले दोस्रो गोल थपे । तेस्रो गोल भने पेनाल्टीबाट भएको थियो‚ यसमा मोहम्मद अब्दुल्लाहले गोल गरे ।
अनन्त तामाङले पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि कुवेतले पेनाल्टीको अवसर पाएको थियो । खेलको ३६ औं मिनेटमा मोहम्मद अब्दुल्लाहको हेड पोस्टमा लागेर बल फर्किएको थियो । नेपाल कुवेतविरुद्धका १० खेलमा जितविहीन रहेको छ । यो खेलपछि प्रतियोगितामा आमन्त्रित कुवेतको सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ भने नेपालले आफ्नो बाँकी दुई खेलमा कडा मिहिनेत गर्नुपर्ने भएको छ ।
समूह ‘ए’ मा रहेको कुवेतले भने पहिलो खेलमै ३ अंक जोडेको छ । यस संस्करणको साफमा ८ राष्ट्रको सहभागिता छ। यस संस्करणमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् । यस संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा रहेका छन् ।
अब नेपालले दोस्रो खेलमा शनिबार आयोजक भारतसँग खेल्नेछ । यस्तै तेस्रो तथा समूह चरणको अन्तिम खेलमा १२ असारमा पाकिस्तानविरुद्ध खेल्नेछ ।