काठमाडौं । साविक विजेता अमेरिकाले सानदार जितका साथ फिफा महिला विश्वकपको उपाधि रक्षाको यात्रा सुरु गरेको छ । शनिबार बिहान भएको खेलमा अमेरिकाले डेब्यु टिम भियतनामलाई ३ – ० गोलले पराजित गरेको हो ।

न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा अमेरिकाका लागि २२ वर्षीया सोफिया स्मिथले उत्कृष्ट प्रदर्शन गरिन् । उनले दुई गोल र एक एसिस्ट गरेकी थिइन् । सरुवात देखिनै हाबी भएको अमेरिकाले १४ औँ मिनेटमा अग्रता लिएको थियो । स्मिथले एलेक्स मोर्गनको सहयोगमा जारी विश्वकपकै छिटो गोल गरेकी हुन् । स्मिथ अमेरिकाको स्क्वाडमा पहिलो पटक विश्वकपमा सहभागी १४ खेलाडी मध्येकी एक हुन् ।

४४ औँ मिनेटमा अमेरिकाले पेनाल्टीमार्फत अग्रता दोब्बर बनाउने सुनौलो मौका पायो । तर मोर्गनको प्रहार भियतनामकी गोलकिपर किम थान्हले विफल पारिदिइन् । ४१ हजार १ सय ७ समर्थक अघि मोर्गनको पेनाल्टी रोक्दै किमले विश्वकपको पहिलो खेल विशेष बनाइन् ।

आठ मिनेट थप गरिएको इन्जुरी समयको अन्त्यमा स्मिथले व्यक्तिगत दोस्रो गोल गरेपछि अमेरिका पहिलो हाफमा २ – ० ले अघि रहेको थियो । ६३ औँ मिनेटमा अमेरिकाकी स्टार खेलाडी मेगन रपिनो मोर्गनको स्थानमा मैदान प्रवेश गर्दा समथर्कमा खुशीयाली छाएको थियो । रपिनोको राष्ट्रिय टिमबाट यो २०० औँ खेल हो ।

मुख्य प्रशिक्षक भ्लात्को एन्डोनोभ्स्कीले ७५ औँ मिनेटमा १८ वर्षिया एलिसा थम्सपनलाई मैदान प्रवेश गराएका थिए । अमेरिकाका लागि विश्वकप खेल्ने थम्पसन दोस्रो कान्छी खेलाडी हुन् । ७७ औँ मिनेटमा कप्तान लिन्ड्से होरनले स्मिथकै सहयोगमा गोल गरेपछि समूह ई मा रहेको अमेरिकाले सहज जित हात पारेको हो ।

अमेरिका लगातार तेस्रो र समग्रमा पाँचौ उपाधि जित्ने लक्ष्यमा छ । खेल सुरु हुनुअघि अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले टिमलाई शुभकामना सन्देश पठाएका थिए ।