काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन हुनुपर्ने माग गरेको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले सुन प्रकरणको जरोसम्म छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठन नहुन्जेल संसद् चल्न नसक्ने जनाए ।
‘गृहमन्त्री, प्रधानमन्त्री र अर्थमन्त्रीहरूको सेटिङबिना यस्तो सम्भव छैन,’ गिरीले भने, ‘यसपटकमा जरासम्म गएर छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्छ । त्यसलाई सभामुखले रुलिङ गर्नुपर्छ । उच्चस्तरीय छानबिन समिति गठन नहुन्जेल संसद् चल्न सक्दैन ।’
उनले पटक-पटक गरी चैत १० गते कम्पनी दर्ता गरेयता ३३ पटक सुन ल्याएको देखिएको भन्दै यस्तो काण्ड हुँदा पनि थाहा नपाउने गृहमन्त्रीले पदमा बस्ने नौतिक आधार नभएको बताए ।