काठमाडौं । भन्सारबाट एक सय किलो सुन तस्करीको घटनापछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ निरक्षणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन र भन्सार कार्यालय पुगेका छन् ।

गृहमन्त्री श्रेष्ठसहितको टोलीले शुक्रबार बिहान विमानस्थलको अध्यागमन तथा भन्सारको निरीक्षण गरेको हो ।

गृहमन्त्रीसँगै भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल, राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, अध्यागमनका विभागका महानिर्देशक झलकराम अधिकारी, प्रहरी महानिरीक्षक वसन्त कुँवरलगायत छन् ।

भन्सारको सुरक्षा जाँचपास गर्ने मेसिनलगायतको कमजोरी बाहिरिएपछि निरीक्षणमा गएका हुन् । भन्सार विभागका निर्देशकसमेत रहेका प्रवक्ता पुण्यविक्रम खड्काका अनुसार खरिदार कुमार ढकाललाई निलम्बन गरिसकिएको छ भने भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बनका लागि अर्थ मन्त्रालयमा सिफारिस गरिएको छ ।

त्यस्तै भन्सार एजेन्ट यादव पराजुलीलाई समेत निलम्बन गरिएको प्रवक्ता खड्काले जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट मंगलबार स्कुटर र मोटरसाइकल ‘ब्रेक सु’ को नामबाट करिब सय किलो सुन जाँचपास गराउने कर्मचारीलाई भन्सार विभागले निलम्बन गरेको हो । भन्सार जाँचपास अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकालले गरेका थिए ।

सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले हालसम्म सुन बोक्न प्रयोग भएको ट्याक्सीका चालकसहित १० जनालाई पक्राउ गरेको छ ।