काठमाडौं । एक क्वीन्टल सुन तस्करी प्रकरणमा कनेक्सन देखिएपछि राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा मारेको छ ।

विभागको टोलीले आइतबार बिहानदेखि भियनामा छापा मारेर केही कागजात र सामग्रीहरु बरामद गरेको विभाग उच्च स्रोतले बतायो ।

विभागको टोलीले होटलबाट दावा छिरिङलाई पक्राउ गरेको स्रोतले बतायो। उक्त होटल उनकी श्रीमतीको नाममा छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ठूलो परिमाणको सुनमा उनको पनि कनेक्सन देखिएपछि विभागको टोलीले छिरिङलाई पक्राउ गरेको हो। उनी नेपाली मूलका बेल्जियम नागरिक हुन्। योसँगै पक्राउ पर्नेको संख्या १८ पुगेको छ।

विभागले उक्त होटलबाट सीसीटीभी फुटेज, कम्प्युटरहरू पनि जफत गरी अनुसन्धान अघि बढाएको छ।

केही समय अघि काठमाडौंमा कल सेन्टर सञ्चालन गरी ठगी धन्दा चलाउनेमा पनि उनको नाम जोडिएको थियो। तर उनी पक्राउ परेका थिएनन्।

राजश्व अनुसन्धान विभागको टोलीले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको एक क्वीन्टल सुन सिनामंगलबाट बरामद गरेको थियो । त्यसबेला विभागको टोलीले ट्याक्सी चालक अशोक लामालाई नियन्त्रणमा लिएको थियो ।