काठमाडौं । कार्यस्थलमा शृंखलाबद्ध रुपमा आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै चिकित्सकहरु सडकमा निस्किएका छन् ।

पछिल्लो पटक पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट भएको विरोधमा चिकित्सकहरुले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका हुन् । माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका चिकित्सक र प्रहरीबीच घम्साघम्सीसमेत भएको छ ।

उपचारको क्रममा बिरामीको मृत्यु भएको विषयलाई लिएर पछिल्लो समय चिकित्सकमाथि आक्रमणको घटना बढ्दै गएपछि सुरक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलित बनेका छन् । उनीहरुले ‘डाक्टर कुट्न पाइँदैन’, ‘स्वास्थ्यकर्मीविरुद्धको हिंसा बन्द गर’ जस्ता नारा लगाएका छन् ।

चिकित्सकले कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन ऐन कार्यान्वयन गर्नुपर्ने आवाज उठाएका छन् । प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामसमेत मागेका छन् ।

हिजो (सोमबार) मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा लमजुङ, सुन्दरबजार नगरपालिका–७ की ५७ वर्षीया बिरामी सुकमाया दुराको मृत्यु भएपछि उनका आफन्तले डा सन्दीप अधिकारीमाथि कुटपिट गरेका थिए ।

चिकित्सकहरुले सांघातिक आक्रमणमा संलग्न दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको माग गरेका छन् । चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति राज्यको तर्फबाट नभए नियमित स्वास्थ्य सेवा प्रवाहमा आउन सक्ने अस्वाभाविक परिस्थितिप्रति सरकार जिम्मेवार हुनु पर्ने नेपाल चिकित्सक संघले चेतावनी दिएको छ ।