काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थमा लाग्ने करबापत प्राप्त हुने सबै रकम स्वास्थ्य मन्त्रालयले प्राप्त गर्नुपर्ने जनाएका छन् ।

राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले सुर्तीजन्य पदार्थमा लाग्ने कर स्वरुपको झण्डै रु छ अर्ब स्वास्थ्य मन्त्रालयले पाउनुपर्ने माग गरेका हुन् ।

अहिले मन्त्रालयले सुर्तीजन्य पदार्थमा लाग्ने करबापत प्राप्त हुने रु चार अर्ब मात्र प्राप्त गरेको उनको भनाइ छ । उनले करबाट प्राप्त रकमबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी थप्न सकिने बताए । उनले भने, ‘मन्त्रालयसँग एक चौथाइ दरबन्दी पनि छैन, म २२ वर्षअघि यस मन्त्रालयमा आउँदा ३३ हजार कर्मचारीको सङ्ख्या अहिले ३१ हजारमा सीमित छ ।’

उनले स्वास्थ्य सेवाको विस्तार गर्न स्वास्थ्यका भौतिक पूर्वाधारसँगै स्वास्थ्यको जनशक्तिको आवश्यकता उत्तिकै भएको जनाउँदै दरबन्दी थप्न आवश्यक भएको औँल्याए । ‘वडास्तरसम्म स्वास्थ्य सेवाको सहज पहुँच पुर्‍याउने व्यवस्था हुँदै गर्दा स्वास्थ्य उपकरणसँगै स्वास्थ्य जनशक्तिको व्यवस्थापनका लागि पनि रु छ अर्ब रकम यस मन्त्रालयले प्राप्त गर्नुपर्दछ,’ उनले भने ।

मन्त्री बस्नेतले जथाभावी कर्मचारी नियुक्ति हुँदा अहिले समस्या देखिएको बताए । उनले भद्रगोल कर्मचारी व्यवस्थापनलाई व्यवस्थित बनाउन मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको कामकाज व्यवस्थापन सम्बन्धमा दिएको सात बुँदे निर्देशन कडाइका साथ लागु गर्नेप्रतिबद्धता व्यक्त गरे ।