सिड्नी । फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ । आइतबार अस्ट्रेलिया स्टेडियममा इंग्ल्यान्डलाई १-० गोल अन्तरले हराउँदै स्पेनले उपाधि उचालेको हो ।

स्पेनको जितमा २९ औं मिनेटमा ओल्गा कार्मुनाले विजयी गोल गरिन् ।

उपाधि भिडन्तमा स्पेनले सानदार प्रर्दशन गर्‍यो । बल पोजिसनमा उत्कृष्ट देखिएको स्पेनले गोलका धेरै अवसर सिर्जना गरेको थियो ।

खेलको ७० औं मिनेटमा जेनिफर हर्मोसोले पेनाल्टी मिस गरेपछि स्पेनले खेलमा अग्रता दोब्बर बनाउने मौका गुमाएको थियो ।

पहिलो हाफमा फरवार्ड लौरिन हेम्पको प्रहार स्पेनको पोस्टमा लागेर फर्कनु इंग्ल्यान्डका लागि निकै महङ्गो पर्‍यो ।

सह आयोजक अस्ट्रेलियालाई हराउँदै फाइनलमा स्थान बनाएको इंग्ल्यान्डले स्पेनले चुनौती पन्छाउन भने सकेन ।

स्पेनले पहिलो पटक महिला विश्वकपको उपाधि उचालेको हो । पुरुष र महिला दुवै टिमले विश्वकप जित्ने स्पेन दोस्रो देश बनेको छ ।