सुनसरी । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले कोकाह खानेपानी श्रमदान अभियान अन्तर्गत जुटेको रकम र खर्चको हिसाब सार्वजनिक गरेका छन् ।
उनले असार २१ गतेसम्म जुटेको रकम र खर्च भएको हिसाब सार्वजनिक गरेका हुन् । अभियान सञ्चालन हुँदा धरान खानेपानी व्यवस्थापन बोर्ड र विभिन्न दाताहरुबाट नगदी र जिन्सी गरेर ७ करोड ४ लाख १८ हजार ६ सय ३२ रुपैयाँ संकलन भएको हिसाब राईले सार्वजनिक गरेका छन् ।
गत फागुन २३ गतेदेखि सुरु भएको कोकाह खानेपानी अभियानको ९८ औं दिनमा धरान-२० पकुवामा पानी खसाइएको थियो । ४२ किलोमटिर लामो पाइपलाइनमार्फत कोकाह खोलाबाट ल्याएको पानी हाल विष्णु चोकको ट्यांकीमा झारेर वडा १७ र ११ को केही भागमा वितरण भइरहेको छ । उक्त पानी सुम्निमा ट्यांकी र स्वास्तिका चोकको ट्यांकीसम्म पनि पुर्याउन अब ५/५ किलोमिटर पाइप खरिद गरेर बिछ्याउने योजना रहेको बताइएको छ ।
सार्वजनिक गरिएको हिसाब अनुसार ७ करोड ४ लाख १८ हजार ६ सय ३२ रुपैयाँमध्ये विभिन्न दाताहरुबाट ४ करोड ८२ लाख ५२ हजार ३५ रुपैयाँ नगद र १ करोड २० लाख ३८ हजार ७ सय ४ रुपैयाँ बराबरको जिन्सी (पाइप) प्राप्त भएको थियो ।
कोकाह खानेपानी अभियानका संयोजकसमेत रहेका पूर्व ब्रिटिश गोर्खा सैनिक दत्तकुमार लिम्बुले धरान खानेपानी व्यवस्थापन बोर्डबाट ६६ लाख ५१ हजार २ सय २० रुपैयाँ बराबरको पाइप प्राप्त भएको बताए । उनले भने, ‘बोर्डले दिएको बाहेक अभियानमार्फत पाइप खरिदमा ४ करोड ९४ लाख ५९ हजार ७०१ रुपैयाँ खर्च भएको भएको छ भने इन्धन खर्च ७ लाख १२ हजार ९ सय ९९ रुपैयाँ, भाडा ढुवानीमा २९ लाख ९४ हजार ८ सय ७८ रुपैयाँ, खाना तथा खाजा, पानीमा ५० लाख २४ हजार ५ सय ५८ रुपैयाँ, विषेश प्राविधिक कामदारलाई ज्याला खर्च २७ लाख १ हजार ५२ रुपैयाँ, टोचन तार र भल्व खरिद गर्दा ४२ लाख ९७ हजार ४ सय १० रुपैयाँ खर्च भएको छ ।’
यस्तै अभियानका सदस्य समिर तामाङले ७ लाख ३३ हजार ९ सय ४८ रुपैयाँ पाइप खरिदको भुक्तानी गर्न बाँकी रहेको र मर्मत तथा फिटिङको ३४ हजार ४ सय रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जानकारी दिए ।