काठमाडौं । १२ वर्षदेखि सञ्चालनमा रहे पनि प्रभावकारी हुन नसकेको ‘हेलो सरकार’ को सेवा आइतबारदेखि विस्तार गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत सञ्चालनमा रहेको हेलो सरकारलाई तीनै सिफ्टमा सञ्चालन हुने गरी विस्तार गरिएको हो ।

हेलो सरकारको सेवा विस्तार एवं सञ्चालनको आइतबार शुभारम्भ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले जनताका गुनासा पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए । सार्वजनिक निकायमा गुनासो सुनुवाइ गर्ने संयन्त्र रहे पनि त्यसले जनताको मुहार उज्यालो बनाउन नसकेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

हेलो सरकारमा नेपाल टेलिकम र एनसेल मोबाइलबाट ११११ मा फोन गरी गुनासो राख्न सकिन्छ भने इमेल, फेसबुक, ट्विटर, पोर्टल, भाइबर, ह्वाट्सएप लगायतका डिजिटल माध्यमबाट पनि गुनासो टिपाउने व्यवस्था गरिएको छ । हेलो सरकारको डेस्कले प्राप्त गरेका गुनासा तत्काल सम्बोधन गरी त्यसको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ ।

यसका लागि ३ उपसचिवसहित २५ कर्मचारी खटाइएको जनाइएको छ । गुनासा सम्बोधनका लागि त र्‍यापिड रेस्पोन्स टीमसमेत गठन गरी कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्री दाहालले जानकारी दिए ।