काठमाडौं । चीनमा जारी एसियाली खेलकुदअन्तर्गत ब्याटमिन्टनमा नेपालले विजयी सुरुवात गरेको छ ।
बिनजियाङ जिम्नयाजियम कोर्टमा नेपालले मंगोलियालाई अन्तिम १६ को खेलमा ३–१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । पुरुष टिम इभेन्टमा नेपालका प्रिन्स दाहालले मंगोलियाका गेरेलसुख जार्गल–साइखानलाई २१–८, २१–१४ तथा सुनील जोशीले मंगोलियाकै अर्का खेलाडीलाई २१–११, २१–७ को सोझो सेटमा पराजित गरे । तर विष्णु कटुवाल भने पराजित भए ।
प्रिन्स दाहाल र विष्णु कटुवालले म्यान्स डबलमा २१–८, २१–९ को जित निकाले । महिला टिम इभेन्टमा भने माल्दिभ्ससँग नेपाल ३–१ ले पराजित भयो ।
यता तेक्वान्दोबाट भने एसियाडमा नेपालको पदक जित्ने सम्भावना समाप्त भएको छ । आज (बिहीबार) ज्याकी यादव पहिलो खेलमै पराजित भएपछि १९औं एसियाडमा नेपालको तेक्वान्दोबाट पदक जित्ने सम्भावना औपचारिक रुपमै सकिएको छ ।
लिनान स्पोर्ट्स कल्चर एण्ड एक्जिबिसन सेन्टरमा भएको पुरुष ८० केजीको अन्तिम १६ को खेलमा नेपाली खेलाडी ज्याकी जोर्डनी खेलाडी अनास सादेकसँग २–० ले सजिलै पराजित भए ।
तेक्वान्दोसहित, जुडो, सुटिङ, उसु, साइक्लिङ, रग्बी (पुरुष) र पुरुष भलिबलमा नेपालको खेल समाप्त भइसकेको छ ।