काठमाडौं । नायिका पूजा शर्मा यस वर्ष विवाह बन्धनमा बाधिने भएकी छन् । करिब ३ वर्षदेखि प्रेम सम्बन्धमा रहेका प्रेमी युद्ध बानियाँसँग लगनगाँठो कस्न लागेकी हुन् ।
यो जोडीले यसै वर्षको दशैँमा विवाह गर्ने तयारी गरेको छ । नायिका पूजाका अनुसार दशैंकै दिन विवाहको तयारी भइरहेको छ । उनले भनिन्, ‘दशैंमा विवाहको तयारी भइरहेको छ । यसपालि दशैंको टीकामा राम्रो भएकाले विवाह गर्न लागेका हौं ।’
यसपटक आगामी कात्तिक ७ गते दशैं परेको छ । यही मितिमा प्रेमी युद्धसँग उनले विवाह गर्न लागेकी हुन् ।
विवाहअघि उनले प्रेमी बानियाँसँग मिलेर काठमाडौंको झम्सिखेलमा होटल सञ्चालन गर्दैछिन् । होटलको कन्स्ट्रक्सनको काम अन्तिम चरणमा पुगेको छ । अहिले पूजा फिल्म ‘दान्भी’को छायांकनमा व्यस्त छिन् । उनको पाइपलाइनमा अभिनेत्री रेखा थापाको फिल्म पनि छ ।
आफ्नो फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिजको समयमा पूजाले युद्धसँगको प्रेम सम्बन्ध खुलेर व्यक्त गरेकी थिइन् । त्यसपछि उनीहरु सार्वजनिक कार्यक्रमहरुमासमेत एकसाथ पुग्ने गरेका छन् । पूजा र युद्धको एक पारिवारिक सदस्यको माध्यमबाट चिनजान भएको हो । युद्धले औंठी लगाइदिएर पूजालाई प्रेम प्रस्ताव राखेका थिए ।
गत वर्ष युद्धको जन्मदिनमा पूजाले आफूलाई भगवानले दिएको सबैभन्दा राम्रो उपहार भनेर उल्लेख गरेकी थिइन् ।