काठमाडौं । सुन तस्करीमा संलग्न भएको आरोपमा २९ जनाविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले पक्राउ परेका २६ र फरार सूचीमा रहेका ३ जना गरी २९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायरको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६१ किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउने गरी प्रतिवेदन दिएको भए पनि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २९ जनामाथि मात्रै मुद्दा दर्ता गरेको छ । २९ जनाविरुद्ध मुद्दा दर्ता भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालले जानकारी दिए ।
प्रतिवादी बनाइएका २९ जनामध्ये २६ जना प्रहरी हिरासतमा छन् भने ३ जना फरार छन् । यो प्रकरणमा ३२ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये ६ जनालाई मुद्दा नचलाउन सीआईबीले नै सिफारिस गरेको थियो । जसअनुसार ६ जनालाई मुद्दा नचलाउने निर्णय सरकारी वकिलको कार्यालयले पनि गरेको हो ।
(सीआईबी) ले गत साता ६१ किलो सुन तस्करीको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो । प्रहरीको राय अनुसार सरकारी वकिलले मु्द्दा लगेको हो । यो प्रकरणमा संलग्न रहेका फरार सूचीका १५ जनाविरुद्ध थप अनुसन्धान जारी रहने छ ।
सबै आरोपितमाथि सुन तस्करी गरेकोमा ३ अर्ब ५० करोड २ लाख रुपैयाँ, ब्रेक प्याडको भन्सारसमेत जोडेर थप २८ लाख ७५ हजार रुपैयाँ गरी कुल बिगो ३ अर्ब ५० करोड ३० लाख रुपैयाँ रहेको जिल्ला अदालतमा पेस भएको अभियोग पत्रमा उल्लेख छ ।
प्रहरीले आरोपितमाथि बरामद भएको बाहेक अरु सुन पनि तस्करी गरेको आरोप लगाएको छ । आरोप पत्र अनुसार उनीहरुले ३६२ किलो ७७८ ग्राम सुन तस्करी गरेका छन् ।