काठमाडौं । फरवार्ड अन्जन विष्ट नेपालबाट सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सूचीमा परेका छन् । २५ वर्षका अन्जनले आज लाओसविरुद्ध गोल गरेसँगै १३ अन्तर्राष्ट्रिय गोल पूरा गरेका छन् । यसअघि नेपालका नीराजन रायमाझी र हरि खड्काले मात्र नेपालका लागि १३ गोल गरेका थिए ।

हरि खड्का र नीराजन रायमाझीले बनाएको कीर्तिमान धेरै वर्षपछि अन्जनले बराबरी गरेका छन् । उनले विश्वकप छनोटमा लाओसविरुद्ध खेलको दोस्रो हाफमा सेट पिसमा गोल गरे । खेलको ५०औं मिनेटमा उनले गोल गरेका हुन् ।

गोल गरेपछी अन्जनले आज जितका लागि खेलेको र बराबरीमा रोकिनुपर्दा आफ्नो रेकर्ड बराबरी पनि छायामा परेको बताएका छन् । नेपाली राष्ट्रिय फुटबल टिमबाट फरवार्डको भूमिकामा खेलेका हरि र नीराजनले दशकभन्दा धेरै नेपाली फुटबलमा बिताएर १३ गोल गरेका थिए ।

अहिले अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेको ९ वर्षपछि अन्जनले १३ गोल पूरा गरेका हुन् । उनले सन् २०१४ को अक्टोबर ३१ मा फिलिपिन्सविरुद्ध डेब्यु गरे पनि पहिला गोल भने सन् २०१९ मा गरेका थिए । अन्जनले चाइनिज ताइपेईविरुद्ध विश्वकप छनोट खेलमै डेब्यु गोल गरेका थिए । त्यसपछि उनी नेपाली टिमको महत्त्वपूर्ण गोल स्कोर बन्दै आइरहेका छन् ।

महत्त्वपूर्ण खेलमा गोल गर्न नसक्नु नेपाली टिमको समस्या हो । यसैकारण उनलाई यो रेकर्ड बराबरी गर्न लामै समय पर्खिनुपर्यो । नेपाली टिमले बंगबन्धु गोल्डकप जित्दा र साग गेम्समा गोल्ड मेडल जित्दा अन्जन नेपाली टिमको सदस्य मात्रै रहेनन् महत्त्वपूर्ण गोलसमेत गरे ।

अन्जनले विश्वकप छनोटको पहिलो खेल भने घरेलु मैदानमा भारतसँग खेलेका थिए । त्यो खेल २०१५ को मार्च ६ मा भएको थियो । त्यसको आठ वर्षपछि पहिलोपटक नेपालले घरेलु मैदानमै फेरि विश्वकप छनोट खेलिरहेको छ । त्यही खेलमा उनले कीर्तिमानी गोल गरेका हुन् । नेपालले विश्वकप छनोटमा अस्ट्रेलियासँग खेल्दा पनि अन्जन प्लेयर्स टू वाचमा परेका थिए ।

सहिद स्मारक ए डिभिजन लिगमा लामो समय मनाङबाट खेलेका उनले विभागीय टिम एपीएफमा फुटबल सिक्ने अवसर पाएका थिए । पछिल्लो सिजन भने उनले चर्च बोइजबाट शीर्ष डिभिजनको लिग खेलेका थिए ।

उनी एन्फा एकेडेमीको उत्पादन हुन् । एन्फा एकेडेमीको उत्पादन अन्जन र उनको ब्याच नेपाली फुटबलको सबैभन्दा भाग्यमानी ब्याचसमेत हो । उनीहरुले उमेर समूहमा पनि धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर पाएका थिए । आजकै खेलमा उनले थप अवसर पाए पनि एकभन्दा धेरै गोल गर्न भने सकेनन् ।