चितवन । भरतपुर महानगरपालिका-९ स्थित टिकोली जंगलमा विभिन्न आठ सवारीसाधन एकै ठाउँमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नम्बरको अक्सफोड कलेज गैँडाकोटको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको शव बोकी देवघाटतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिएको हो । सोही दुर्घटनामा बा प्र ०६-००१ प ९९८१, बा प्र ०३-००५ प ९७, ना ६२ प ६०३२, बा प्र ०३-००१ प ४१४७ मोटरसाइकल र बा प्र ०६-००१ प २२९४ र बा.प्र.०३-००२ प ४१९८ नम्बरको स्कुटरसहित सम्पूर्ण सवारीसाधन एक आपसमा ठोक्किएका हुन् ।
ठक्करबाट २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । घाइतेमध्ये १२ जनाको भरतपुर अस्पतालमा, सात जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल ‘पुरानो मेडिकल कलेज’मा र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घाइतेमध्ये भरतपुर अस्पतालमा उपचाररत सात जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको उनले जानकारी दिए । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सवारीसाधन घटनास्थलमै छन् ।