काठमाडौं, ३ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भोलि (सोमबार) देखि महानगरभित्र हिन्दी फिल्म प्रदर्शन रोक्न निर्देशन दिएका छन् ।

हिन्दी फिल्मको प्रदर्शन रोक्न नगर प्रहरीलाई निर्देशन दिइएको मेयर शाहको सचिवालयले जनाएको छ । काठमाडौं महानगरका ३२ वडाभित्र १७ फिल्म हल छन् ।

हिन्दी फिल्मको प्रदर्शन रोक्न आइबार बेलुकासम्म नगर प्रहरीले सबै हललाई जानकारी गराउने भएको छ । रामायणमा आधारित हिन्दी फिल्म ‘आदिपुरुष’ मा समावेश वाक्यप्रति आपत्ति जनाउँदै नसच्याए सबै हिन्दी फिल्मको प्रदर्शन रोक्ने चेतावनी दिएका मेयर शाहले उक्त कारबाही भोलिदेखि कार्यान्वयन हुने जनाएका छन् ।

मेयर शाहले फेसबुकमार्फत जानकारी दिँदै लेखेका छन्, ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको छ ।’

फिल्म आदिपुरुषबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय फिल्मलाई सोमबारदेखि निषेध गरिएको उनले जनाएका हुन् । ‘महानगर क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्र प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्रको प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्नेछ,’ मेयर शाहले लेखेका छन् ।

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यलाई भारतमा सच्याउन मेयर शाहले फेसबुक स्टाटसमार्फत तीन दिनको अल्टिमेटम दिएका थिए । आइतबार तीन दिन सकिंदासम्म उक्त संवाद नसच्चिएको भन्दै बालेनले सोमबारदेखि भारतीय फिल्म रोक्न निर्देशन दिएका हुन् ।

आइतबार बेलुकासम्म फिल्म निर्माताले भारतमा उक्त संवादलाई सच्याएका छैनन् । बरु उल्टै फिल्मका गीतकार तथा लेखक मनोज मुन्तशीरले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी रहेको भ्रम सिर्जना गर्न खोजेका छन् ।

मुन्तशीरको अभिव्यक्तिलाई लिएर नेपालमा तीव्र आलोचना भइरहेको छ । उनले नेपाल भारतबाटै अलग भएको र भारतकै अंशको रुपमा रहेको विवादित अभिव्यक्ति दिएका छन् ।