काठमाडौं। फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा इंग्ल्यान्ड र डेनमार्कले नकआउट चरणमा स्थान पक्का गरेका छन्।

हिन्दमार्श स्टेडियममा मंगलबार भएको खेलमा इंग्ल्यान्डले चीनलाई ६-१ को फराकिलो गोलअन्तरमा पराजित गरेको हो। यससँगै इंग्ल्यान्ड समूह ‘डी’को विजेताको रुपमा नकआउट चरणमा पुगेको छ। चीन भने तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

इंग्ल्यान्डको लागि एलेसिया रुसो, लरेन हेम्प, लरेन जेम्स, क्लो केली र राहेल डेलीले गोल गरे। चीनको लागि श्वाङ वाङले गोल फर्काइन्।

खेलको चौथो मिनेटमा रुसोले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाइन्। २६ औँ मिनेटमा हेम्पले इंग्ल्यान्डको लागि दोस्रो गोल गरिन्। ४१ औँ मिनेटमा जेम्सले तेस्रो गोल गरिन्।

५७ औँ मिनेटमा चीनले पाएको पेनाल्टीमा वाङले चीनको लागि १ गोल फर्काइन्। ६५ औँ मिनेटमा जेम्सले इंग्ल्यान्डको लागि चौथो गोल गरिन्। यो उनको व्यक्तिगत दोस्रो गोल थियो। ७७ औँ मिनेटमा क्लोले इंग्ल्यान्डको लागि पाँचौँ गोल गरिन्। ८४ औँ मिनेटमा डेलीलले इंग्ल्यान्डको छैँटौँ गोल गरिन्।

यस्तै, समूह ‘डी’को अर्को खेलमा डेनमार्कले हाइटीलाई २-० गोलअन्तरले पराजित गर्‍यो। डेनमार्कको लागि पेर्निल हार्डर र सान्ने निल्सेनले गोल गरिन्।

यससँगै डेनमार्क समूह ‘डी’को उपविजेता हुँदै नकआउट चरणमा पुगेको छ। लगातार ३ खेलमा पराजित भएको हाइटी भने प्रतियोगिताबाट बाहिरिएको छ।

खेलको २१ औँ मिनेटमा हार्डरले पेनाल्टीमा डेनमार्कको लागि गोल गरिन्। इन्ज्यूरी समयमा निल्सेनले डेनमार्कको लागि दोस्रो गोल गरिन्।