काठमाडौं । प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ । एकजना बेपत्ता भएका छन् ।

इजारयलका लागि नेपाली राजदूतले कान्ता रिजालका अनुसार मृतकहरु सबै विद्यार्थी हुन् । बेपत्ता एकजनाको पनि खोजी कार्य तीव्र बनाइएको उनको भनाइ छ ।

राजदूत रिजालका अनुसार किबुज अलुमिनमा रहेका १७ विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको हो । यसको जानकारी परराष्ट्र मन्त्रालयलाई गराइएको उनले जानकारी दिइन् । ‘हामीले नचाहँदा नचाहँदै दु:खद खबर सुनाउनु पर्‍यो । घाइते विद्यार्थीलाई तुरुन्त उपचारको प्रबन्ध गर्न इजराइलको सबै तहमा प्रयास गरेका थियौं । जुन सफल हुन सकेन,’ रिजालले भनिन्, ‘नामसहितको विवरण भने भोलि सार्वजनिक गर्ने तयारी गरेका छौं ।’

चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । शनिबार बिहान ६ बजेदेखि ७ बजेको समयमा उनीहरु बसेको क्याम्पभित्र हमासका लडाकुहरु प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

राजदूत रिजालका अनुसार मृत्यु हुनेमा घोडाघोडी-४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी-६ बझाङका गणेशकुमार नेपाली, बाउनिया-३ कैलालीका आशिष चौधरी, लेकाम-५ दार्चुलाका दिपेशराज विष्ट, सपही-६, धनुषाका आनन्द साह र मधुवान-१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् ।

यस्तै पाँचनली-डोटीका राजन फुलारा, लामिखाल-८ डोटीका पदम थापा, सारदा-३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन-४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ ।

सारदा-२ सल्यानका विधान सेजुवाल, दगिशरण-३ दाङका प्रविण डाँगी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुबैको खट्टामा गम्भीर चोट लागेको छ ।

गोरखा-८ गोरखाका हिमाञ्चल कट्टेलको पनि स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने टीकापुर-९ कैलालीका धनबहादुर चौधरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । त्रिवेणी-१ सल्यानका प्रमोद केसी फार्म हाउस मालिकको घरमा सुरक्षित छन् भने भजनी त्रिशक्ति-४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोस्टमा सुरक्षित अवस्थामा छन् ।

ती विद्यार्थी गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका थिए । उनीहरु सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी हुन् ।

आइतबार बिहान मात्र परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई दिएको जानकारीअनुसार इजरायलमा ४ हजार ५०० नेपाली केयर गिभरका रूपमा कार्यरत छन् । २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गएका थिए । जसमा कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए ।