काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) आफैं आयोजना गर्ने निर्णय गरेको छ ।

असोज पहिलो साता भएको साधारणसभाबाट चुनिएको कार्यसमितिको पहिलो बैठकले मार्च-अप्रिल २०२४ मा एनपीएल आयोजना गर्ने गरी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

अरु फ्रेन्चाइज लिगलाई भने विदेशी खेलाडी बिना घरेलु लिगका रुपमा मात्र सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको छ । एभरेस्ट प्रिमियर लिग (ईपीएल) ले विदेशी खेलाडीसहित लिग गर्ने प्रस्ताव गरेको छ । यसबारे एनपीएल सकिएपछि बोर्ड बैठकमा छलफल गरेर निर्णय गर्ने सहमति भएको क्यानले जनाएको छ ।

यसैगरी क्यानको बैठकले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता राउण्ड रोविन लिगको आधारमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

सात प्रदेश र तीन विभागीय गरी १० टोली सहभागिता रहने प्रतियोगिताको सेमिफाइनल खेल दुईदिवसीय र फाइनल खेल तीनदिवसीय ढाँचामा सञ्चालन गर्ने निर्णय भएको सचिव खड्काले जानकारी दिए ।

यस्तै अर्को महिना त्रिकोणात्मक शृङ्खला आयोजना गर्ने क्यानले निर्णय गरेको छ । टी-२० विश्वकप छनोटको तयारीका लागि नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक शृङ्खला आयोजना गर्ने निर्णय गरेको हो । प्रतियोगिता ३० असोजदेखि ९ कात्तिकसम्म मुलपानीमा हुने क्यानले बताएको छ ।

प्रत्येक प्रदेशमा एक-एक वटा खेल मैदानमा पिच निर्माण गरी प्राविधिक जनशक्ति र आवश्यक खेल मैदान सामग्रीको व्यवस्था गर्ने पनि क्यानले निर्णय गरेको छ । यसअनुसार हरेक प्रदेशको प्रतिनिधित्व रहने गरी १० जनालाई क्युरेटर तालिम दिइनेछ ।

हरेक प्रदेशमा प्रादेशिक क्रिकेट संघले पूर्वखेलाडी, क्रिकेटसँग सम्बन्धित व्यक्तिहरुबाट एक जना स्वयंसेवक प्रादेशिक विकास अधिकृत (प्रोभिन्सियल डेभलपमेन्ट अफिसर) नियुक्त गर्न सिफारिस माग गरेको छ ।

क्यानले अध्यक्ष चतुरबहादुर चन्दको संयोजकत्वमा उपाध्यक्ष रोशनकुमार सिंह, सचिव पारस खड्का, कोषाध्यक्ष पदमबहादुर खठ्का र सदस्य दिवाकर घले रहेको पाँच सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ ।

वार्षिक रुपमा राष्ट्रिय क्रिकेट अवार्ड आयोजनाको निर्णय गरेको बोर्डले झापाको प्रतिनिधि विवादबारे जाँचबुझ गर्न कोशी प्रदेशका अध्यक्ष सर्वजित पाण्डेको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति समेत बनाएको छ ।