काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण राष्ट्रियसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।
बुधबार अपराह्न साढे दुई बजे बैठक प्रारम्भ हुनेबित्तिकै एमाले सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह दिल्ली धाएको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए ।
एमाले सांसदको अवरोधपछि बैठक अपराह्न ३ बजे बस्ने गरी स्थगित भएको थियो । निर्धारित समयमा बैठक बस्न नसकेपछि सङ्घीय संसद् सचिवालयले पुनः पौने चार बजे बैठक बस्ने सूचना जारी गरेको थियो ।
तोकिएको समयमा बैठक बस्न नसकेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीबार दिउँसो एक बजे बस्ने गरी निर्धारण गरेको सचिवालयले जनाएको छ ।