काठमाडौं । १९ औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ । नेपालले टी–२० क्रिकेटमा पहिलो पटक भारतसँग खेल्न लागेको हो । क्वाटरफाइनलमा नेपाल र भारतबीच मङ्गलबार बिहान पौने ७ बजे प्रतिस्पर्धा हुने छ ।

अघिल्लो महिना मात्रै नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक एसिया कपमा भारतसँग खेलेको थियो । एकदिवसीय एसिया कपमा श्रीलङ्कामा नेपालले भारतसँग खेलेको थियो । उक्त खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो ।

नेपालले समूह ‘ए’को पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा माल्दिभ्सलाई हराएको थियो।

नेपालसहित हङकङ र मलेसिया प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । बाँकी पाँच टिमले भने सिधै क्वार्टरफाइनल खेल्ने पहिल्यै तय भएको थियो । भोलि नै हुने अर्को खेलमा हङकङले पाकिस्तानको सामना गर्नेछ ।