काठमाडौं । एसिया कपमा भारतसँग नेपाल १० विकेटले पराजित भएको छ । योसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

सोमबार वर्षाले अवरुद्ध भएपछि डीएलएस पद्धतिमा २३ ओभरमा घटाइएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य बिना विकेट क्षति ‍‍‍२०.१ ओभरमा भेट्टायो । भारतको जितमा रोहित शर्माले ७४ र शुभमन गिलले ६७ रन जोडे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै २३० रन बनाएको थियो ।

नेपालका लागि आसिफ शेखले ५८ रनको अर्धशतकीय पारी खेले । ९७ बल खलेका उनले ८ चौका प्रहार गरे । योसँगै आसिफ नेपालका लागि भारतकाविरुद्धमा अर्धशतक पूरा गर्ने पहिलो खेलाडी भएका छन् ।

यस्तै नेपालका लागि सोमपाल कामीले ४८ रनको योगदान गरे । सोमपालले ५६ बल खेल्दै १ चौका र २ छक्का प्रहार गरे । नेपालका लागि कुशल भुर्तेलले ३८ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले २९ रन जोडे ।

नेपालका गुलशन झाले २९ रन बनाउँदा भिम सार्कीले ७ रन बनाए । भारतका लागि मोहमद शिराज र रविन्द्र जडेजाले समान तीन तीन विकेट लिए । त्यस्तै मोहमद शामी र हार्दीक पाड्याले एक एक विकेट लिए ।

नेपालले एसियन कपको आफ्नो पहिलो खेल पाकिस्तानसँग पराजित भएको थियो ।