काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सदस्यहरूले आफ्नै दलका मन्त्रीहरुले पनि सरकारका महत्वपूर्ण जिम्मेवारीमा बसेर काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् । केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा बोल्ने अधिकांश नेताहरूले मन्त्रीहरूले डेलिभेरी दिन नसक्दा आमसर्वसाधारणको पार्टीप्रतिको दृष्टिकोण झन्-झन् बिग्रिँदै गएको बताएका हुन् ।

उनीहरूले सरकारमा आफ्नै दलको अर्थमन्त्री भए पनि मुलुकको अर्थतन्त्रमाथि उकास्ने गरी कुनै काम गर्न नसकेको भन्दै पार्टीका प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतको क्षमतामाथि नै प्रश्न उठाए ।

नेताहरूले सरकारले विकास खर्च गर्न नसक्ने, उद्यमीले ऋण नपाउने, तर बैंकमा पैसा थुप्रिएर बस्ने अनि बजारमा मन्दी र कालोबजारी मौलाउने अवस्थाको अन्त्य गर्न अर्थमन्त्रीले तत्काल योजना बनाएर काम अघि बढाउनुपर्ने सुझाव दिए ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका सदस्य गोविन्द पोखरेलले पहिलो दल बनेर सरकारमा महत्वपूर्ण हिस्सा लिए पनि आमसर्वसाधारणमा आशा जगाउन नसकेको बताए ।

‘सरकारको नेतृत्व अर्को दलले गरेको छ, हामी आफैँ पनि सरकारमै छौँ, तर, सरकारको डेलिभेरीमा चित्त बुझाउने अवस्था छैन,’ नेता पोखरेलले भने, ‘देशमा गरिखान चाहनेहरू निराश छन् । प्रत्येक दिन साना-ठूला एक जना व्यवसायीले आत्महत्या गरिरहेका छन् । बैंकहरुमा ५ खर्ब रुपैयाँ थन्किएको छ । तर उद्यमीले ऋण नपाएर सटर बन्द गरेर हिँड्न बाध्य छन् ।’

आँगनमा चाडवाड आइपुगेका बेला आर्थिक मन्दी लागेर करिब ६० प्रतिशत आन्तरिक रोजगारी धरापमा परेको र सहरका करिब ३५ प्रतिशत सटर बन्द भएको उनको दाबी थियो । मुलुकको बिग्रिँदो आर्थिक अवस्थाका विषयमा अर्थमन्त्री र गभर्नरले अनुत्तरदायी ढंगले एकअर्कालाई आरोप प्रत्यारोप गरेर प्रस्तुत हुनु गलत भएको उनको भनाइ थियो ।

‘अर्थमन्त्री राष्ट्र बैंकको मौद्रिक नीतिले गर्दा अर्थतन्त्र बिग्रियो भनिरहनुभएको छ । गभर्नर भने सरकारको आर्थिक नीतिले गर्दा अर्थतन्त्रको हालत यस्तो अवस्थामा भएको भनिरहनुभएको छ, जिम्मेवार दुई अधिकारीको यस्तो अनुत्तरदायी दोहोरीबीच अर्थतन्त्र जहाँको त्यही छ,’ पोखरेलले थपे ।

उनले अर्थतन्त्र कमजोर बनेका बेला फजुल खर्च नियन्त्रण गर्नुपर्नेमा मिलिजुली सरकारले त्यसलाई समेत बढाउने काममात्रै गरिरहेको आरोप लगाए ।

सरकारको नेतृत्वमा अर्को दल भए पनि प्रमुख दलका हिसाबले सबैको नजर कांग्रेसको भूमिकाप्रति केन्द्रित रहेको नेताहरुको भनाइ थियो । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मिन विश्वकर्माले यस्तो बेला अर्थमन्त्रीले विशेष प्याकेज ल्याएर अर्थतन्त्रलाई माथि उठाउने र नागरिकमा भरोसा जगाउने काम गर्नुपर्ने सुझाव दिए ।

‘आँगनमा चाडपर्व आइसके, तर देशको अर्थतन्त्र बिरामीमात्रै होइन, सिकिस्त भएको अवस्था छ । सरकारको नेतृत्व अर्को दलले गरे पनि अर्थमन्त्री हाम्रै हुनुहुन्छ,’ विश्वकर्माले अघि भने, ‘अहिले आम सर्वसाधारणको दैनिकीलाई छुने गरी विशेष प्याकेज ल्याएर राहत दिलाउन र आशा जगाउन आवश्यक छ ।’

अर्का सदस्य एवम् पार्टीको आपूर्ति तथा उपभोक्ता विभागका प्रमुख गुरू बरालले नियमन प्रणाली कमजोर हुँदा बजारमा महँगी र कालोबजारी मौलाएको बताए । ‘एकातिर अर्थतन्त्र संकटमा छ, अर्कोतिर बजारमा महँगी र कालोबजारी मोलाएको छ, उपभोक्ताले, आमसर्वसाधारणले कतैबाट न्याय पाउने परिस्थिति छैन,’ बरालले भने, ‘अर्थ मन्त्रालय र आपूर्ति मन्त्रालय दुवै हाम्रै पार्टीको नेतृत्वमा छन्, यसबारे तत्काल निर्देशन दिएर नियन्त्रण गर्न आवश्यक छ ।’

अर्का सदस्य जीपछिरिङ लामाले आर्थिक अवस्था जर्जर बनेका विषयमा पार्टीले सरकारलाई गम्भीर ढंगले सुझाव दिनुपर्ने बताए । ‘आज हाम्रै पार्टीको अर्थमन्त्री हुनुहुन्छ । तर देशको आर्थिक अवस्था जर्जर बनेको छ । अर्थतन्त्रमाथि उकास्न किन सकिएको छैन ? सरकारले के गरिरहेको छ ? दोष कसलाई लगाउने हो ?,’ उनले भने, ‘देशभरि पूर्वाधार निर्माणका कामहरू रोकिएका छन्, निर्माण व्यवसायीहरूले काम गरेको पैसा भुक्तानी पाउन सकिरहेका छैनन् । यस्तो बेला पार्टीले सरकारलाई गम्भीर भएर सजग गराउनुपर्छ ।’

बैठकमा अर्थमन्त्री महतले जवाफ भने दिएका छैनन् । बिहीबारको देखि सुरू भएको बैठकमा शुक्रबारसम्म करिब ५० जनाले मात्रै धारणा राखेका छन् । तर सभापति शेरबहादुर देउवाले भने आइतबार दिउँसो १ बजेसम्म बैठक सक्नुपर्ने रूलिङ गरेका छन् । शुक्रबारमात्रै ४५ जना सदस्यहरूले धारणा राखेका थिए ।

पार्टीले आगामी मंसिर ११ देखि १३ का लागि बोलाएको महासमिति बैठकका विषयमा छलफल गर्न बसेको बैठकमा यसपटक नेताहरूले वर्तमान निर्वाचन प्रणालीसहित संविधानमा आवश्यक संशोधन गर्नुपर्ने, सरकारमा रहेर सुशासन र भ्रष्टाचारका विरुद्ध पार्टीलाई प्रतिबद्धरुपमा उभ्याउनुपर्ने तथा पार्टीको संगठनलाई चुस्तदुरूस्त राख्नुपर्ने विषयहरूलाई जोड दिएर उठाएका छन् ।