काठमाडौं । सांस्कृतिक चाड गाईजात्रा पर्वका अवसरमा आज बिहानैदेखि राजधानीका विभिन्न स्थानमा परम्परागत झाँकी एवं मौलिक बाजागासहितको यात्रा चलिरहेको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने यो परम्परागत सांस्कृतिक पर्वका अवसरमा राजधानीको वसन्तपुर दरबार क्षेत्रमा बिहानैदेखि मानिसको भीड लागेको छ ।
एक वर्षभित्र दिवङ्गतका आफन्तको संझनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउनेको लाम लागेको हो । गाई वा गाईका रुपमा सिँगारी जात्राका लागि निकालिएकाहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिएको देखिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभर मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाएर वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
यही धार्मिक विश्वासका आधारमा वसन्तपुर दरबार क्षेत्र भएर गाईजात्रा प्रदर्शन भइरहेको छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन “जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु” भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।
यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गराउन आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ । मल्लकालदेखि सुरु भएको गाईजात्रा अहिले काठमाडौँ उपत्यकाको मौलिक पर्वका रूपमा स्थापित भइसकेको छ । हनुमानढोका दरबार क्षेत्रका सुमन खड्गी गाईजात्राका अवसरमा हर्षोल्लासपूर्ण रुपमा बिहानदेखि नै कार्यक्रम भइरहेको बताउँछन् । काठमाडौँमा भने भोलि पनि गाईजात्रा मनाउने तयारी केही मानिसले गरेको उनको भनाइ छ । जनैपूर्णिमा र गाईजात्रा एकै दिन मनाउने परम्परा नभएका केही परिवारले भने शुक्रबार गाईजात्रा मनाउन लागेका हुन् ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने जनैपूर्णिमा, रक्षाबन्धन, ऋषितर्पणी र गाईजात्रा पर्व आजै मनाउनु शास्त्रसम्मत रहेको जनाएको छ । शुक्रबार सूर्योदयकालमा प्रतिपदा तिथि नभेटी तिथि टुटेकाले आजै गाईजात्रा मनाउनु शास्त्रसम्मत हुने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीको भनाइ छ ।
प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ । यसै आधारमा काठमाडौँमा निस्कने सबैजसो गाईजात्रा हनुमानढोका दरबार क्षेत्र आइपुग्छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिन्छ । भाद्र कृष्णअष्टमीका दिनसम्म मनाइने यसपर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ । गाईजात्राकै अवसर पारेर युट्युबमा नयाँ हास्यव्यङ्ग्यात्मक कार्यक्रम पनि प्रस्तुत हुने गरेको छ ।