काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्य स:मिलमा धारिलो हतियार प्रयोग गरी एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ । काठ मिलमा काम गर्ने कुमार भुजेलसहित ४ जनाको हत्या भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।

काठ मिलमा गार्डका रूपमा कार्यररत कुमार भुजेलसहित उनको परिवारका ३ जना सदस्यको हत्या भएको हो । ५६ वर्षका कुमार भुजेल, उनकी ५२ वर्षीया श्रीमती अम्बिका भुजेल र ७६ वर्षीया आमा सुभद्रा भुजेलकोसमेत हत्या भएको छ । उनीहरू दोलखाका स्थायी बासिन्दा हुन् ।

त्यस्तै मोरङको बेलबारीका २० वर्षीय नवीन राईको पनि हत्या भएको छ । मृतक सबैको टाउको तथा शरीरको विभिन्न भागमा धारिलो हतियारको चोट रहेको प्रहरीको भनाइ छ ।

घटनामा संलग्न रहेको आंशकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौंको तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शनिबार बिहान घटनास्थलको मुचुल्का उठाई शवहरू पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइसकिएको एसएसपी मैनालीले जानकारी दिए ।

घटना राति १२ बजेतिरको भएको अनुमान गरिएको छ । घटनाको अनुसन्धानका लागि तालिमप्राप्त प्रहरी र कुकुरको समेत परिचालन गरिएको छ ।