काठमाडौं । भक्तपुर र काठमाडौंको टुँडिखेललगायत देशभरका विभिन्न स्थानमा आज गाईजात्रा पर्व मनाइएको छ । गाईजात्रा पर्वकै अवसरमा काठमाडौंमा यौनिक अल्पसंख्यक समूहले प्राइड परेड प्रदर्शन गरेका छन् ।

गाईजात्रामा स्थानीय बासिन्दाले सांस्कृतिक नृत्य प्रस्तुत गरेका छन् । भक्तपुरमा अन्य स्थानको भन्दा भिन्न र विशेष खालको जात्राका रुपमा लिइन्छ ।

भक्तपुरको गाईजात्राको प्रमुख आकर्षणका रुपमा घिन्ताङ किसी नाच, माक प्याख नाँच भएकाले हेर्नकै लागि उपत्यकालगायत विभिन्न क्षेत्रका नागरिक पुग्ने गर्छन् ।

एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभर मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाएर वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । गाईजात्रालाई हास्यव्यङ्ग्य पर्वका रुपमा पनि लिइन्छ ।