विराटनगर । कोशी प्रदेशमा पुनः संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन हुने भएको छ। आइतबार साँझ प्रदेश प्रमुख पर्शुराम खापुङले पाँच दिनको म्याद दिई नयाँ सरकार गठन गर्न आह्वान गरेका हुन्।

प्रदेश प्रमुख खापुङले महान्यायाधिवक्ताको राय लिएर दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न भनेका छन्। उनले संविधानको धारा १६८ को उपधारा २ अनुसार उक्त आह्वान गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयको सूचना अनुसार असार २१ गते ५ बजेसम्ममा दाबी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेका हुन्।

विश्वासको मत पाउन नसकेर सत्ता नेतृत्व गुमाएको एमालेले भने उपधारा २ अनुसारको सरकार आफ्नो भएको र अब उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बनाउन आह्वान हुनुपर्ने भन्दै प्रदेश प्रमुखलाई माग गरेको थियो। तर, कानुनी परामर्श र महान्यायाधिवक्ता समेतको रायमा उपधारा २ अनुसारको सरकार बनाउन आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।

कोशी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि केन्द्रीय सत्ता गठबन्धनमा रहेका घटकहरू नयाँ सरकार बनाउन जुटेका छन्। यसका लागि शीर्ष नेताहरूसँग छलफलका लागि नेताहरू काठमाडौं पुगेका छन्। कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापा दुई दिनदेखि काठमाडौंमा छन् भने माओवादी केन्द्रका दलका नेता इन्द्र आङ्बो र एकीकृत समाजवादीका नेता राजेन्द्र राई पनि आइतबार नै काठमाडौं पुगेका छन्।

प्रदेश प्रमुखले सरकार गठनको आह्वानको तयारीका लागि ‘कानुनी परामर्श’ गरिरहँदा नेताहरू मुख्यमन्त्री बन्ने आकांक्षासहित काठमाडौं पुगेका हुन्। तीनमध्ये पूर्वमुख्यमन्त्री राईले भने यसपटक आफ्नो दाबी नरहेको बताउँदै आएका छन्।

उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहितका नेतालाई भेटेर सरकार गठनबारे छलफल गर्नेछन्। माओवादी नेता आङ्बोले कांग्रेस, माओवादी केन्द्रलगायत केन्द्रीय सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्ने र मध्यावधिमा नजाने जानकारी दिए। सरकार गठनबारे राप्रपासँग पनि कुरा भइरहेको उनले जानकारी दिए।

९३ सदस्यीय प्रदेश सभामा एक मत नपुगेर एमालेका हिक्मत कार्की नेतृत्वको सरकार ढलेको थियो। कार्कीले ४६ मत पाएका थिए भने विपक्षमा ४३ मत आएको थियो। सरकार गठन गर्न ४७ मत आवश्यक हुन्छ। प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३ (सभामुखसहित) राप्रपाका ६, एकीकृत समावादीका ४ र जसपा १ सांसद छन्। गठबन्धनमा राप्रपा पनि थपिनेमा घटक दलहरू विश्वस्त छन्।

राप्रपा सामेल नभए पनि बहुमत पुर्या‍उने दाबी उनीहरूको छ। गठबन्धनको पक्षमा कांग्रेसका २९, माओवादी केन्द्रका १३, समाजवादीका ४ र जसपाका १ सांसद गरी ४७ जना छन्। सभामुखसहित ४७ भएकाले गठबन्धनले बहुमत जुटाउन नसक्ने र सरकार नबन्ने दाबी एमालेको छ। तर, नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र राईले गठबन्धनको पक्षमा बहुमत जुट्ने दाबी गरे।

सरकार गठनमा गठबन्धनले साथ खोजिरहँदा राप्रपाले भने आफूहरूसँग कसैले छलफल नगरेको बताएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेसम्म गठबन्धनले कोशीमा सरकार गठनमा छलफल नगरेको बताए।