काठमाडौं । कोशीको मुख्यमन्त्रीमा गठबन्धन दल कांग्रेसका नेता उद्धव थापा दोस्रो पटक नियुक्त भएका छन् ।

सभामुख बाबुराम गौतमले सरकार गठनका लागि बहुमत पुर्‍याउन पदबाट राजीनामा दिएर दाबी पेस गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

नेपालको सविधानको धारा १६८ को उपधारा(२) बमोजिम प्रदेश प्रमुख खापुङले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख खापुङले नवनियुक्त मुख्यमन्त्री थापालाई बधाई तथा शुभकामना पनि दिएका छन भने भोलि बिहान १० : ३० बजे मुख्यमन्त्रीले शपथ लिने कार्यक्रम तय भएको छ ।

मंगलबारै पौने ५ बजे थापाले प्रदेशसभाका ४७ सदस्यको आफूलाई समर्थन रहेको भन्दै प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए । उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले समर्थन गरेका छन् ।

दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनै पर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्रीमा नियुक्त भएपछि थापालाई विश्वासको मतका लागि राप्रपाको समर्थन अपरिहार्य हुन्छ । तर राप्रपाले गठबन्धनको सरकारलाई समर्थन नगर्ने प्रस्ट पारिसकेकाले उनको सरकार ३० दिनका लागिमात्रै हुने देखिएको छ।

सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक छ । तर गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख बाहेक १२, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका एक गरी ४६ मात्रै सांसद रहेकाले सभामुख गौतमलाई राजीनामा गराएर बहुमत पुर्‍याएको हो ।