काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि उनी मुख्यमन्त्रीबाट पदमुक्त भएका छन् ।
प्रदेशसभाको शुक्रबारको बैठकमा सभामुख बाबुराम गौतमले मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतमाथिको प्रस्तावका पक्षमा ४६ र विपक्षमा ४३ मत प्राप्त भएको जानकारी दिए । प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ४७ मत आवश्यक हुन्छ । प्रदेशसभामा आजको बैठकमा कुल सङ्ख्या ९३ मध्ये ८९ प्रदेशसभा सदस्य उपस्थित थिए ।
जनता समाजवादी पार्टीले मुख्यमन्त्रीको विश्वासको प्रस्ताव उपर तटस्थ बस्ने निर्णय गरेकाले पार्टीका एक मात्र प्रदेशसभा सदस्य निर्मला तावा लिम्बू आजको बैठकमा उपस्थित भइनन् । प्रतिपक्षका दुई सांसद पनि आएनन्। कार्कीको सरकार टिकाउन एक मत पुगेन ।
नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ (४) बमोजिम मुख्यमन्त्री कार्कीले प्रदेशसभामा बिहीबार उक्त प्रस्ताव पेश गरेका थिए ।
विश्वासको मत प्रस्तावमाथि बिहीबारको बैठकमा प्रदेशसभा सदस्यहरुले आफ्ना भनाइ राखेका थिए । आजको बैठकमा मुख्यमन्त्री कार्कीले प्रदेशसभा सदस्यहरुको प्रश्नको जवाफ दिँदै जनताले कुनै पनि दललाई स्पष्ट बहुमत नदिएको र दलहरु मिलेर नै सरकार बनाउनुको विकल्प नभएको बताए । उनले त्यसअघि आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।
मुख्यमन्त्रीले प्रदेशसभाको विश्वासको मत नपाएको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको प्रदेशसभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले जानकारी दिए।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले प्रदेशसभा सचिवालयको पत्र आइसकेको बताए । पत्र आएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले परामर्श गरिरहेको उनले बताए। प्रदेश प्रमुख निकट स्रोतका अनुसार आज नै प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गर्ने तयारी गरेका छन्।
गत पुस १० गते केन्द्रमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा सत्ता गठबन्धन बनेपछि सात मध्ये ४ प्रदेशमा एमालेले सरकार नेतृत्व गरेको थियो । एमालेका खगराज अधिकारी गण्डकी, लिला गिरी लुम्बिनी र सुदूरपश्चिममा राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका थिए । सुदूर पश्चिमका रावल नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि एक महिनामै ढलेको थियो । नागरिक उन्मुक्ति पार्टीका सांसद अनुपस्थित भएसँगै रावल नेतृत्वको सरकार गत माघको तेस्रो सातामै ढलेको थियो ।
फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा केन्द्रमा नयाँ समिकरण बनेपछि प्रदेशमा एकपछि अर्को गर्दै एमाले नेतृत्वका सरकार ढले । गण्डकीका मुख्यमन्त्री अधिकारी वैशाख ९ गते सरकारबाट बाहिरिएका थिए भने लुम्बिनीका मुख्यमन्त्री गिरी नेतृत्वको सरकार वैशाख ११ गते ढलेको थियो ।
कोशी प्रदेशमा सरकार कसको बन्ने भन्ने अन्यौल रहेको छ । मधेश प्रदेशमा जसपाका सरोजकुमार यादव मुख्यमन्त्री रहेका छन् । वागमतीमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल, गण्डकीमा कांग्रेसका सुरेन्द्र पाण्डे, लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरी, कर्णालीमा माओवादी केन्द्रका राजकुमार शर्मा र सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री रहेका छन् ।